हिमालयन रिइन्सुरेन्सले भोलिबाट आइपीओ खुला गर्ने
काठमाडौं । हिमालयन रिइन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भोलि सोमबार मंसिर ४ गतेदेखि प्रिमियम मूल्यमा आइपीओ खुला गर्ने भएको छ । यसअघि कात्तिक २१ गतेदेखि जारी गर्ने भनिएकोमा सार्वजनिक लेखा समितिले त्यसबेला रोक्न आदेश दिएपछि यसको मिति पर सरेको थियो । यद्यपि, कम्पनीले भने तिहार पर्व परेका कारण मिति सारिएको दाबी गरेको थियो ।
हिमालयनले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३०% ले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसअनुसार कम्पनीले यसको १०% अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गर्न लागेको हो । यसपछि सर्वसाधारणमा आइपीओ खुला हुनेछ ।
यस कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आइपीओ जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।