शिवम् सिमेन्ट ५ करोड ३४ लाख रुपैयाँ नोक्सानमा
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शिवम् सिमेन्ट ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा गएको छ ।
कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार गत वर्षको यस अवधिमा कम्पनीले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको बिक्री आम्दानी करिब ९ करोडले बढे पनि अन्य आम्दानी करिब २९ करोडले घट्दा कुल आम्दानी नै घटेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा कुल आम्दानी १ अर्ब ८४ करोड ७९ लाख रुपैयाँ रहेकोमा यो वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी १ अर्ब ६४ करोड ८८ लाख रुपैयाँमा खुम्चिएको छ ।
समीक्षा अवधिमा कम्पनीले प्रशासनिक खर्च केही घटाए पनि बिक्री लागत करिब ११ करोडले बढेको छ । अन्य आम्दानीसँगै कुल आम्दानी घट्ने तर बिक्री लागत बढ्न जाँदा कम्पनी अन्ततः नोक्सानीमा गएको हो ।
पहिलो त्रैमासमा कम्पनीको कुल खर्च १ अर्ब ७० करोड रुपैयाँ पुगेको छ, गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो खर्च १ अर्ब ५७ करोड थियो ।
कम्पनी नोक्सानमा गएपछि प्रतिसेयर आम्दानी नै ४ रुपैयाँ ८६ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने २०५ रुपैयाँ छ ।
बजार बन्द हुँदा बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९६ रुपैयाँ छ ।