उन्नति सहकार्य लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौँ । उन्नति सहकार्य लघुवित्तको एफपीओआ आवेदन दिने आज (कात्तिक २४ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले कात्तिक २१ गतेदेखि १ करोड ७८ लाख ४५ हजार ४५१ रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको हो ।
यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ जारी गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ ल्याएको हो ।
साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त एकआपसमा गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत कायम भएको थियो ।
उक्त पुँजी संरचना ऐन अनुसार मिलाउन यस लघुवित्तले एफपीओ जारी गरेको हो । कम्तिमा ३० प्रतिशत सर्वसाधारणको हिस्सा हुनुपर्ने व्यवस्था छ । एफपीओपछि संस्थापक हिस्सा घट्नेछ भने सर्वसाधारणको स्वामित्व बढ्नेछ ।