युनिलिभरको खुद मुनाफा ६२.२१ प्रतिशत वृद्धि
काठमाडौँ । युनिलिभर नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको भन्दा ६२.२१% धेरै हो । गत वर्ष यसै अवधिमा कम्पनीले ३४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी बढ्दा र खर्च नियन्त्रण गर्न सफल भएपछि नाफा बढ्न पुगेको हो । असोज सम्ममा यसले सञ्चालन आम्दानी ३.७४% ले वृद्धि गरेर २ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष यस्तो आम्दानी २ अर्ब २४ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीले खर्च १ अर्ब ८६ करोड रुपैयाँबाट घटाएर १ अर्ब ६७ करोड रुपैयाँमा झारेको छ । खर्च नियन्त्रण गर्दा पनि नाफा बढ्न टेवा पुगेको छ ।
हाल युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा ४ अर्ब ८२ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्ष यसै अवधिमा रिटेन्ड अर्निङ ३ अर्ब ९० करोड रुपैयाँ रहेको थियो ।
यता, खुद नाफा बढेपछि कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष १७ सय २४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर २२ सय २२ रुपैयाँ (वार्षिक) पुगेको छ । प्रतिसेयर नेटवर्थ पनि ४ हजार ३ सय ७७ रुपैयाँबाट बढेर ५ हजार ३ सय ३७ रुपैयाँ कायम भएको छ ।