११.०५ % लाभांश पारित गर्न शाइन रेसुङ्गाले डाक्यो १५ औँ वार्षिक साधारणसभा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारसभा डाकेको छ । बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले १५औँ वार्षिक साधारणसभा मंसिर २३ गते रुपन्देहीमा बिहान ११ बजे बोलाएको हो ।
बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद गरी कूल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
यस्तै, बैंकको अधिकृत पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।