सुरक्षित आप्रवासनलाई थप व्यवस्थित गर्न स्वीट्जरल्यान्ड तयार
काठमाडौँ । सुरक्षित आप्रवासनलाई थप व्यवस्थित गर्न स्वीट्जरल्यान्ड सरकार तयार रहेको छ । हाल नेपालमा स्वीट्जरल्यान्ड सरकारको सहयोगमा सुरक्षित आप्रवासन कार्यक्रम (सामी) लगायतका परियोजना सञ्चालित छन् ।
ती परियोजनालाई थप प्रभावकारी बनाउने विषयमा स्वीट्जरल्यान्ड सरकार तयार भएको हो । नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. डेनियल मेउली मोन्टेललेने (Danielle Meuwly Monteleone) ले श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्रीसँग भेटवार्तामा यस्तो प्रतिबद्धता जाहेर गरेकी हुन् ।
श्रम मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताको क्रममा नेपाल–स्वीटजरल्याण्डबीचको सम्बन्ध, नेपाली श्रमिक लगायतका विषयमा छलफल भयो । सोही अवसरमा राजदूत मोन्टेललेनेले सुरक्षित आप्रवासनलाई थप व्यवस्थित गर्न तयार रहेको बताएकी हुन् ।
श्रम मन्त्रालयका सहायक प्रवक्ता तथा उपसचिव डम्बरबहादुर सुनुवारले कुन सेक्टरमा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा स्वीट्जरल्यान्ड सरकार तयार रहेको बताए । ‘राजदूत भर्खर नयाँ आउनुभएको हो । उहाँले शिष्टाचार भेटको क्रममा विभिन्न विषयमा कुरा भयो । सेफर माइग्रेसनलाई कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो’ उनले भने ।
नेपालको माइग्रेसन क्षेत्रलाई व्यवस्थित गर्न स्वीट्जरल्यान्ड सरकारले ठूलो सहयोग गर्दै आएको छ ।