काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा डिजिटल उपकरणको आयात बढेको छ।
भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि असोजसम्मको अवधिमा स्मार्टफोन, ल्यापटप, ट्याबलेट र स्मार्टवाचको आयात बढेको छ।
यो वर्षको तीन महिनामा ९ अर्ब ४३ करोड १९ लाख रुपैयाँका ६ लाख ४२ हजार ४१५ स्मार्टफोन आयात भएका छन्। यसबाटमात्र सरकारले १ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष भने यही अवधिमा ८ अर्ब ५३ करोड रुपैयाँका ६ लाख १८ हजार ५२० वटा स्मार्टफोन आएका थिए।
त्यस्तै अन्य टेलिफोन भने गत वर्षको तुलनामा आयात घटेको छ। यो वर्षको तीन महिनामा ३ लाख ७२ हजार ९६२ वटा आएका छन्। यसको मूल्य २९ करोड रुपैयाँ छ। गत वर्षको यही अवधिमा ६४ करोड रुपैयाँका ६ लाख ५६ हजारवटा भित्रिएका थिए।
स्मार्टवाच पनि गत वर्षको तुलनामा वृद्धि भएको छ। गत वर्ष ७९ हजार वटा आयात भएकोमा यो वर्ष ९० हजारवटा स्मार्टवाच आयात भएको छ।
यो अवधिमा २ अर्ब ३ करोड रुपैयाँका ३० हजार ७३१ वटा ल्यापटप तथा नोटवुक भित्रिएका छन्। गत वर्षको यही अवधिमा १ अर्ब ६४ करोड रुपैयाँको २४ हजार ७११ वटा ल्यापटप आयात भएको थियो। त्यस्तै १२ करोड रुपैयाँका ३ हजार ९५८ वटा ट्याबलेट आयात भएको छ। गत वर्ष ३ करोड रुपैयाँको १ हजार ११३ वटा ट्याबलेट आयात भएको थियो।