कामना सेवा बैंकको सीआरएसबाट प्रहरी कन्ट्रोल रूमको सबलीकरण
काठमाडौं । कामना सेवा विकास बैंकले व्यवसायिक सामाजिक उत्तरदायित्व (सीआरएस) कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा रहेको प्रहरी कन्ट्रोल रूमको सबलीकरण कार्यक्रम सम्पन्न गरेको छ । स्थापनाको सोह्रौं वर्ष पूरा गरी सत्रौं वर्षमा प्रवेश अवसरमा सीआरएसअन्तर्गत यो काम गरेको बैंकले जानकारी दिएको छ ।
उक्त कन्ट्रोल रूमको सबलीकरण सम्पन्न गरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापालाई बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्तान्तरण गरे ।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरी कन्ट्रोल रूमको सबलीकरण गरिदिएकोमा धन्यवाद ज्ञापन गर्नुका साथै प्रहरी कन्ट्रोल रूमको सेवा समेत छिटो र छरितो हुन थालेको बताए ।
बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरू गरिरहेको छ । बैंकले गत शुक्रवारदेखि विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको छ । कार्यक्रम आगामी बिहीबारसम्म सञ्चालन हुने बैंकले जानकारी दिएको छ ।