चौधरी फाउण्डेनद्वारा राहत वितरण जारी राख्दै भूकम्पबाट घरविहिन परिवारका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने घाेषणा
काठमाडौं । चौधरी फाउण्डेसनले जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितकालागि राहत वितरण कार्य जारी राखेको छ । चौधरी फाउण्डेसनको उच्चस्तरीय टिम जाजरकोट र रुकुम पुगि भूकम्प प्रभावितकालागि तत्काल अत्यावस्यक राहत सामाग्री वितरण गरिरहेको छ ।
फाउण्डेसनले जाजरकोट र रूकुमका विभिन्न वस्तीका भूकम्प प्रभावितका लागि स्थानीय प्रशासनसँगको समन्वयमा राहत वितरण गरेको हो । चौधरी फाउण्डेसनले खाद्यान्न, त्रिपाल, ब्ल्याङ्केट र औषधीहरू भूकम्प प्रभावित क्षेत्रमा पु¥याएको छ । फाउण्डेसनको टिम प्रभावित क्षेत्रमै रहेर तत्काल आवस्यक पर्ने राहत व्यवस्थापन गरिरहेको छ र राहत वितरण कार्य जारी रहनेछ ।
तत्कालको राहत व्यवस्थापनसँगसँगै भूकम्पले घरविहिन भएका परिवारकालागि ‘ट्रान्जिसनल होम’हरूको अत्यन्तै खाँचो छ । भत्किएका घरहरू पुनर्निमाण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले जतिसक्यो चाँडो ‘ट्रान्जिसनल होम’हरू बनाएर घरविहिन हुनु भएका भूकम्प प्रभावितहरूलाई ओतमुनि पु¥याउनु आवश्यक छ । यो अवस्थालाई मध्यनजर गर्दै चौधरी फाउण्डेसनले भूकम्प प्रभावितहरूका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने निर्णय लिएको छ ।
स्थानीय प्रशासन/ स्थानीय पालिकाहरूसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गरिनेछन् । यस्ता ‘ट्रान्जिसनल होम’ निर्माणका लागि आवस्यक पर्ने वित्तिय सहयोग चौधरी फाउण्डेसनले गर्नेछ भने स्थानीय निकायले सेल्टर निर्माणका लागि आवश्यक पर्ने जमिन र स्थानीय तहमै उपलब्ध सामान एवं श्रमको व्यवस्थापन गर्नेछन् । यस्तो सहकार्यले छोटो समयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गर्न सकिने र प्रभावितहरूले ओत पाउने विश्वास चौधरी फाउण्डेसनको छ ।
चौधरी फाउण्डेसनका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य माननीय विनोद चौधरीले भन्नुभयो– ‘भूकम्पका कारण जाजरकोट, पश्चिम रूकुम र कर्णाली प्रदेशका अन्य जिल्लाका नागरिकको जीवन यतिखेर कष्टकर बनेको छ । उहाँहरूको पीडामा मल्हम लगाउने काममा हामीले कत्तिपनि विलम्ब गर्नुहुँदैन । यहि मर्मलाई आत्मसाथ गर्दै चौधरी फाउण्डेसनले तत्काल राहतका कार्यक्रमलाई जारी राख्दै भूकम्पले घरविहिन बनेकाका लागि चिसोबाट जोगाउन छानोमुनि फर्काउने कामलाई पनि तिब्रता दिने निर्णय लिएको छ । यस जिम्मेवारी वहनकालागि हाम्रो फाउण्डेसनको टिम प्रभावित क्षेत्रमा पुगेर काम शुरू गरिसकेको छ ।’ मानवीय सेवाको यस्तो कार्यमा सबैले हातेमालो गर्न र सहकार्य गर्न पनि अध्यक्ष चौधरीले आव्हान गरेका छन् ।
फाउण्डेसनले पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रूकुमको चौर जहारी नगरपालिकाबाट गर्ने सहमति भईसकेको पनि हामी जानकारी गराउन चाहान्छौँ । मिति २०८० कात्तिक २१ गते विहान चौधरी फाउण्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प वादीवीच उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने सहमति भएको छ ।
उक्त सहमतिपछि मेयर वादीले भने– ‘भूकम्पबाट घर भत्किएका परिवारलाई जतिसक्यो छिटो ओतमा पु¥याउनु हाम्रो जिम्मेवारी हो । यो जिम्मेवारी लिन चौधरी फाउण्डेसन आफै हाम्रो आँगनमा आइपुगेको छ । हामीवीच ‘ट्रान्जिसनल होम’ बनाउने सहमति भएको छ । र, छिटोभन्दाछिटो काम शुरू गर्न हामी प्रतिवद्ध छौँ ।’ यसैगरि अन्य स्थानीय निकायसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम अगाडि बढाइने जानकारी गराईन्छ ।
चौधरी फाउण्डेसनले गोर्खा केन्द्रविन्दू रहेको २०७२ सालको महाभूकम्पबाट प्रभावितहरूका लागि करिव तीन हजार ‘ट्रान्जिसनल होम’ निर्माण गरि हस्तान्तरण गरेको थियो । साथै, सिन्धुपाल्चोकको गिरानचौरका भूकम्प पीडित ६२ परिवारका लागि पक्की घर निर्माण गरि हस्तान्तरण गरेको थियो । भूकम्प प्रभावितका लागि २०७२ सालमा चौधरी फाउण्डेसनबाट सम्पादन भएको सफल कार्यक्रमको अनुभवले अहिलेको भूकम्प पीडितको सेवामा जुट्न हामीलाई सहज हुने विश्वास सीजीले लिएकाे छ।