चार्टर्ड फ्लाइटमार्फत् नेपाल–भियतनाम पर्यटक आदनप्रदान
काठमाडौँ । नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न पुनः चार्टर्ड फ्लाइट हुने भएको छ । यसअघि तीनपटक पर्यटक आदनप्रदान भइसकेको नेपाल–भियतनाम पर्यटन सम्बन्धका लागि थप दुई चार्टर्ड फ्लाइट हुन लागेको हो ।
काठमाडौंको रुप्से होलिडेज र भियतनामको टर अपरेटरबीचको सहकार्यमा चार्टर्ड उडानमार्फत् भियतनामको पर्यटक नेपाल ल्याउने र नेपालको पर्यटक भियतनाम लैजाने तयारी भएको हो । यसअघि तीनपटक चार्टर्ड फ्लाइटमार्फत् भियतनामको पर्यटक नेपाल आएका थिए भने नेपालबाट समेत भियतनाममा पर्यटक पुगेका थिए ।
चार्टर्ड फ्लाइटको आयोजना गरेको रुप्से कम्पनीका अनुसार यसअघि अक्टोबर २१, २५ र २९ मा हिमालय एयरलाइन्सको विमानबाट काठमाडौं–हनोइ–काठमाडौं चार्टर्ड फ्लाइट भएको थियो ।
सो अवधिमा भियतनामबाट २ सय २५ पर्यटक नेपाल आएका थिए भने नेपालबाट ३ सय २८ पर्यटक भियतनाम गएका थिए । पहिलो चरणको पर्यटक आदनप्रदानबाट आफू उत्साहित रहेको भन्दै दोस्रो चरणमा सन् २०२४ को जनवरीमा पुनः चार्टर्ड फ्लाइट गरी पपर्यटक आदनप्रदान गर्न खोजिएको आयोजक रुप्से होलिडेजले जनाएको छ ।
भियतनामबाट आएका पर्यटकलाई काठमाडौं, पोखरा, लुम्बिनी र सौराहाको भ्रमण गराएको र उनीहरुले मनग्य रकम खर्च गरेको आयोजकले जनाएको छ । लामो समय घुमघाम गर्न चाहनेलाई ट्रेकिङ लैजानेसम्मको योजना रहेको भन्दै अहिले सुरुवाती चरणमा पर्यटक आदनप्रदानमै जोड दिएको कम्पनीले जनाएको छ ।
तीन घण्टाको यात्रामा भियतनामको हनोई पुगिने भएकाले ५ रात ६ दिनको प्याकेज तयार गरिएको पनि कम्पनीले जनाएको छ । हाल एक लाख रुपैयाँमा भियतनाम भ्रमणको प्याकेज ल्याइएको र उक्त रकममा दुईतर्फी हवाई भाडा, होटल, पिक अप ड्रप, क्रुज डिनर लगायतको टुर प्याकेज समावेश गरिएको कम्पनीले जनाएको छ ।
भियतनामबाट पर्यटक ल्याएर सुरुमा काठमाडौं, पोखरा तथा चितवनको भ्रमण गराएपनिन मुख्य उद्धेश्य भनेको भियतनाममा रहेका वौद्ध धर्मावलम्बीलाई नेपाल ल्याउने रहेको रुप्से होलिडेजले जनाएको छ । करिब १५ प्रतिशतको हाराहारीमा रहेका वुद्ध धर्मावलम्वी पर्यटकलाई नेपालको लुम्बिनी क्षेत्रको भ्रमण गराउने उद्धेश्य रहेको रुप्से होलिडेजले बताएको छ ।
भियतनामी पर्यटकले हाल नेपाल बसाइका क्रममा न्युनतम पनि १ हजार ५ सय डलर खर्च गर्ने गरेको आयोजक कम्पनीले दाबी गरेको छ ।