यो साता सुनको मूल्यमा उच्च रेकर्ड कायम, पछिल्ला दिनमा भने मुल्यमा निरन्तर कमी
काठमाडौं । यो साता सुनकाे मूल्य नेपालमा ऐतिहासिक उचाइमा पुग्याे । नेपाली बजारमा मात्र नभएर विश्व बजारमा सुनको मुल्यमा उच्च रेकर्ड कायम भएको छ ।
नेपाली बजारमा यो साता सुन प्रतिताेला एक लाख १७ हजार रूपेयाँ पुगेर नयाँ रेकर्ड बनायाे । शनिबार सामान्यतया मूल्य नताेकिएपनि याे साता भने उच्चस्तरमा पुगेकाले मूल्य ताेकिएकाे थियाे । त्यसअघि शुक्रबार पनि सुनकाे मूल्य सर्वाधिक महंगाे भएकाे थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यका अनुसार इजरायल–हमासबीच द्वन्द्व भड्किरहँदा लगानीकर्तामाझ सेफ हेभन एसेटको माग बढ्दा सुन बजारले टेवा पाइरहेको छ । यही साताको अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको नीतिगत बैठकको पर्खाइमा लगानीकर्ताहरु रहँदा पनि सुरुका दिनमा सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
विश्व बजारमा पनि शुक्रबार ४ डलर भन्दा बढीले महंगिएर प्रतिअउन्स एक हजार ९८९ डलर बराबर पुगेकाे छ । चाँदी भने सामान्य घटेर प्रतिअउन्स २२.६६ डलरमा काराेबार भइरहेकाे छ । साे बजारमा याे साताकाे मंगलबार सुन प्रतिअउन्स २ हजार ६ डलरसम्म पुगेकाे थियाे।