भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु
काठमाडौँ । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ।
जाजरकोट सदरमुकाम खलंगामा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।
नलगाड नगरपालिका-८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्।
पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले अहिलेसम्म कम्तीमा ३६ जनाको ज्यान गएको पुष्टि भएको छ।
रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रूकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ। त्यस्तै, जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ।
हामीलाई प्राप्त पछिल्लो विवरणअनुसार जाजरकोटको कुशे गाउँपालिका-७ धनरासेमा घरहरू भत्किँदा ७ जनाको मृत्यु भएको छ।