पश्चिम नेपालमा शुक्रबार राति ६.४ रेक्टर स्केलकाे भुकम्प, १२८ जनाको मृत्यु, १४० भन्दा बढी घाइते
काठमाडौँ । पश्चिम नेपालमा केन्द्रविन्दु रहेर शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार राति ११ः४७ बजे पश्चिम नेपालको कर्णाली प्रदेशस्थित जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
जाजरकोट केन्द्रबिन्दु भए गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ।
भूकम्पमा परी आज बिहानसम्म जाजरकोटमा ९२ जना र रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।
त्यस्तै जाजरकोटमा ७० र रूकुम पश्चिममा ८५ जना घाइते भएका छन्।
अहिलेसम्म १०८ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पताल लगिएको पनि एसएसपी भट्टरईले जानकारी दिए।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार र खोजी तीब्र पारिएको र तीन वटै सुरक्षा निकाय परिचालन भएको उनले बताए।