वित्तीय संस्थाबाट ऋण लिने परिवारको संख्या २५ प्रतिशत नाघ्यो
काठमाडौं । बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिने परिवारको संख्या २५ प्रतिशत नाघेको पाइएको छ । देशभरका कुल ६६ लाख ६० हजार ८४१ प्रिवारमध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएको देखिएको हो ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजा अनुसार प्रदेशगत हेर्दा त्यस्ता ऋण लिने परिवार सबैभन्दा बढी मधेश प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा २१.९६ प्रतिशत देखिन्छ ।
त्यस्तै, राष्ट्रिय जनगणना २०७८ अनुसार नेपाल भर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरुमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेका छन् । दोस्रोमा २८.७८ प्रतिशत २ तले ९.१७ प्रतिशत ३ तले १.३ प्रतिशत ४ तले ०.६४ प्रतिशत ५ देखि ७ तले ०.०१ प्रतिशत ८ देखि ९ तले र ०.००३ प्रतिशत १० भन्दा बढी तले घर रहेका छन् । मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात ८४.४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात २.३४ प्रतिशत रहेको छ ।
त्यसैगरि, घर तथा घरपरिवार सूचीकरण फाराममा संकलित विवरणमध्ये घरको मुख्य प्रयोग र घरको आयु अनुसार नतिजा सार्वजनिक गरिएको छ । घरको आयुलाई १२ वटा, ० वर्ष १ वर्ष २ वर्ष ३ वर्ष ४ वर्ष ५९ वर्ष १०–१४ वर्ष १५–१९ वर्ष २०–२९ वर्ष ३०–४९ वर्ष ५०–९९ वर्ष र १०० वर्ष भन्दा माथि मा वर्गिकरण गरिएको छ । जसअनुसार कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी २७.९५ प्रतिशत घर ०–४ वर्षका रहेका छन् भने सबैभन्दा कम १०० भन्दा बढी वर्षका ०.५ प्रतिशत घर रहेका छन् ।
देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवार (संस्थागत परिवार बाहेक) मध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिन्छ । उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा २.९८ प्रतिशत रहेको छ ।
देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवार मध्ये ४१ लाख २२ हजार ६९० अर्थात् ६१.८९ प्रतिशत परिवारमा कम्तिमा १ जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिन्छ । यसै गरी कुल २ करोड ९१ लख ६४ हजार ५७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १८१ जना अर्थात् २५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्था सहकारी संस्था बाहेक मा कम्तिमा एउटा खाता रहेको देखिन्छ । यसैगरी कुल १ करोड ४२ लाख ५३ हजार ५५१ जना पुरुष मध्ये २६.४२ प्रतिशत र कुल १ करोड ४९ लाख ११ हजार २७ जना महिला मध्ये २४.७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा कम्तिमा एउटा खाता रहेको छ ।
देशभरका कुल परिवारमध्ये १२.५५ प्रतिशत परिवारमा कम्तिमा १ जना व्यक्तिले प्राविधिक तथा व्यवसायिक शिक्षा वा तालिम लिएको देखिन्छ । यसैगरी जम्मा १० लाख ८१ हजार ६४६ जना व्यक्ति अर्थात् ५.६७ प्रतिशत १८ वर्ष वा सोभन्दा माथि उमेरसमूहको कुल जनसंख्यामा व्यक्तिले उक्त तालिम लिएको देखिन्छ ।