नेपालमा २५.५६ प्रतिशतको बैंकमा खाता, अधिकांश घरहरु एक तले
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा अधिकांश घरहरु एक तले रहेको बताएको छ । सोमबार कार्यालयले जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार नेपालमा कुल ७५ लाख ५२ हजार ६६ वटा घर रहेका छन् । जसमध्ये सबैभन्दा धेरै ५९.८२ प्रतिशत एक तले घर रहेको छ ।
यसैगरी, २ तले घर दाेस्राे स्थानमा रहेकाे छ । नेपालभर २ तले घर २८.७८ प्रतिशत, ३ तले घर ९.१७ प्रतिशत, ४ तले घर १.३ प्रतिशत, ५ देखि ७ तले घर ०.६४ प्रतिशत रहेकाे पाइएकाे छ । यस्तै, ८ देखि ९ तले घर ०.०१ प्रतिशत र १० भन्दा बढी तले घरहरु ०.००३ प्रतिशत रहेको उक्त तथ्यांकमा उल्लेख गरिएकाे छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार एक तलाको घर सबैभन्दा बढी मधेश प्रदेशमा रहेको छ । मधेश प्रदेशमा एक तले घर ८४.४२ प्रतिशत रहेकाे तथ्यांकले देखाउँछ । यस्तै, पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी २.३४ प्रतिशत रहेको पाइएकाे छ ।
कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरुमध्ये सबैभन्दा बढी २७.९५ प्रतिशत घर ४ वर्षसम्म पुरानो रहेको तथ्यांकमा उल्लेख गरिएकाे छ । राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीका अनुसार सबैभन्दा कम १०० भन्दा बढी वर्षका घरहरु ०.५ प्रतिशत रहेको छ ।
तथ्यांकका अनुसार नेपालका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको पाइएको छ । उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत रहेको छ ।
२५.५६ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा खाता
त्यसैगरी, देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ४१ लाख २२ हजार ६९० अर्थात् ६१.८९ प्रतिशत परिवारमा कम्तिमा एक जनाको बैंक तथा वित्तीय संस्थामा खाता रहेको छ।
तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा कुल २ करोड ९१ लाख ६४ हजार ५७८ जनामध्ये ७४ लाख ९ हजार १८१ जना अर्थात् २५.५६ प्रतिशत व्यक्तिको कम्तिमा एउटा खाता रहेको पाइएको छ।
कुल १ करोड ४२ लाख ५३ हजार ५५१ जना पुरुषमध्ये २६.४२ प्रतिशत पुरूषकाे बैंक तथा वित्तीय संस्थामा खाता रहेकाे छ । यसैगरी, कुल एक करोड ४९ लाख ११ हजार २७ जना महिला रहेका मध्ये २४.७४ प्रतिशतको एउटा खाता रहेको छ ।
तथ्यांक अनुसार देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ८ लाख ३६ हजार १२७ अर्थात् १२.५५ प्रतिशत परिवारमा कम्तीमा एक जना व्यक्तिले प्राविधिक तथा व्यवसायिक शिक्षा वा तालिम लिएका छन् । यसरी, १० लाख ८१ हजार ६४६ जना व्यक्ति अर्थात ५.६७ प्रतिशत व्यक्तिले सो तालिम लिएको जनाइएको छ ।
नेपालका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको पाइएको छ । सबैभन्दा बढी मधेश प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशतले ऋण लिएको देखिन्छ ।