कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । कुमारी बैंक ऋणपत्रमा आवेदन दिने आज सोमबार कात्तिक १३ गते अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । बैंकले आइतबार मात्रै सबै ऋणपत्र बिक्री नभएको भन्दै समय थप गरेको थियो । तथापि, सोही दिन मागभन्दा बढी आवेदन परेकाले आजदेखि बिक्री बन्द गर्न लागेको जनाएको छ ।
कुमारी बैंकले कात्तिक २ गते बिहीबारदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो ।
यसबाट ५% अर्थात् १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । कुमारी बैंकले १० वर्ष अवधिको ‘१०% केबीएल डिबेन्चर २०९०’ जारी गरेको हो । यसमा वार्षिक १०% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ ।
यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई ‘इक्रा एनपी त्रिपल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम सुरक्षित रहेको संकेत गर्छ ।