दशैं किनमेलको मेला
काठमाडौं। दशैं शुरू भइसकेको तथा तिहार र छठ पर्वसमेत नजिकिँदै गर्दा नेपालमा यति बेला दैनिक उपभोग्य वस्तुको विक्री पनि आकाशिएको छ । दशैंमा खाद्य वस्तुको विक्री २५ देखि ३० प्रतिशत बढ्ने व्यवसायीहरु बताउँछन् । दशैंमा खासगरी तेल, चिनी, मसला, ड्राई फूड, गेडागुडी, दाल, चामलको विक्री बढ्छ । ठूला चाडपर्वका बेला ड्राई फूडको विक्री ४० प्रतिशतभन्दा धेरै बढ्ने सम्बन्धित ब्यवसायीहरू बताँउछन् ।
बजारका खुद्रा पसलदेखि ठूल्ठूला मलसम्ममा किनमेल गर्नेहरूको भीड लाग्ने गरेका छन् । यतिबेला आवश्यक सामग्री तथा दैनिक उपभोग्य वस्तु आम उपभोक्ताको प्राथमिकतामा पर्ने गरेको छ । विशेषगरी खाद्य वस्तुको उपयोग अधिकतम हुने भएकाले त्यसको मूल्यवृद्धिप्रति उपभोक्ताहरू सजग देखिन्छन् । चाडपर्वका बेला वस्तुको मूल्यमा हुने विचलनले उपभोक्ता मर्कामा पर्ने गरेको गुनासोसमेत सुनिन्छ ।
दशैंमा मिठाई
दशैंतिहारमा मासुपछि सबैभन्दा बढी विक्री मिठाइको हुन्छ । खाना खाएपछि र शुभ अवसरमा मिठाई सेवन गर्ने नेपालीको चलन नै छ । शाकाहारीदेखि मांसाहारीसम्म र बालबालिकादेखि वृद्धवृद्धासम्मले मिठाई मन पराउँछन् । मिठाईविना चाडवाड खल्लो मानिन्छ । यो समयमा मिठाईको व्यवसाय पनि उच्च हुन्छ । अन्य दिनभन्दा चाडवाडमा ४ गुणासम्म बढी मिठाईको माग हुने व्यापारीहरू बताउँछन् ।
नेपालका शहरी क्षेत्रमा जलेबी, चक्लेट बर्फी, पेडा, बेसनको लड्डु, मोती चुडको लड्डु, सुजीको लड्डु, मुङको लड्डु, नरिवल लड्डु, मसला लड्डु, केशरी पेडा, रसबरी, लालमोहन, गुलाब जामुन, क्रिम मिठाई, काजुको मिठाई बढी खपत हुन्छन् । यस्तै कलाकन्द, काजुको बर्फी, कालो जामुन, दूधबरी, रसमलाई, गाजरको हलुवा, मुम्बई बदामी हलुवा, सनपापडी, काजु कमल, खोया बदाम, राजभोग, वालु शाहीलगायत मिठाई पनि दशैंदेखि छठसम्ममा धेरै परिमाणमा विक्री हुने व्यापारी बताउँछन् ।
कपडाको व्यापार उचाईमा
नेपालमा बच्चाहरुमात्रै नभएर युवायुवाती तथा वृद्धहरु सबैले दशैंमा नयाँ लुगा लगाउने प्रचलन रहेको छ । युगौंदेखि चलिआएको यो प्रचलन हालपनि कायमै रहेको छ ।बजारमा नयाँ नयाँ कपडाको माग बढेको छ। आजभोलिको चलनचल्तिमा रहेको कपडाको खोजिमा खरिदकर्ताहरु बजार आउने गरेका छन् । अन्य समयको तुलनामा दशैंमा बढी विक्री हुने गरेको छ । यसवर्ष करिब ३० प्रतिशतसम्मले व्यापार वृद्धि हुने अनुमान व्यवसायीको छ ।