नवरात्रिमा पूजाकोठाको सफाइ
काठमाडौं। नेपालीहरूको ठूलो चाड नवरात्रि (दशैं) शुरू भइसकेको छ । नवरात्रि ९ दिनसम्म मनाइन्छ । यसका लागि हामीले विशेष तयारी गरेका हुन्छौं । माता दुर्गाले आफू, आफ्नो परिवार तथा इष्टमित्रहरूको कल्याण गरून् भन्ने कामनाले नवरात्रिमा विधिपूर्वक पूजाआराधना गरिन्छ । यति बेला घरमा पूजाकोठा नहुनेले पनि दुर्गा पूजाका लागि विशेष स्थान छुट्ट्याएका हुन्छन् । त्यसैले, नवरात्रिको शुरुआत सबैभन्दा पहिले मन्दिर या पूजाकोठाको सफाइ गरेर हुन्छ । पूजाकोठाको सफाइपछि विभिन्न ध्वजापताकाले सजाउने चलन पनि छ । नवरात्रिका लागि धेरैले नयाँ पूजा सामग्रीको प्रयोग गर्छन् । हिन्दू मान्यताअनुसार सफा र सुन्दर स्थानमा देवीदेवताको वास हुने भएकाले नवरात्रिमा पनि पूजाकोठा तथा मन्दिर सफाइको ठूलो महत्व छ । तपाईं पनि नवरात्रि मनाउँदै हुनुहुन्छ भने आफ्नो घर तथा पूजाकोठाको सफाइ र सजावट पनि गर्दै हुनुहुन्छ होला । नवरात्रिमा पूजाकोठा तथा पूजा सामग्री सफा गर्ने विधिबारे यहाँ चर्चा गरिएको छ
भुइँको सफाइ
सबैभन्दा पहिले पूजाकोठाको भुइँ सफा गर्नुपर्छ । यदि कोठामा सानो मन्दिर पनि छ भने त्यसलाई नरम कपडा र साबुनपानीले राम्रोसँग सफा गर्नुहोस् ।
मूर्ति
मूर्तिपूजा हिन्दूहरूको मुख्य विशेषता हो । नवरात्रिमा पनि दुर्गाको मूर्तिमा पूजा गर्ने चलन छ । यदि मूर्ति चाँदी, पित्तललगायत धातुबाट बनेको छ भने त्यसलाई नून वा टूथपेष्ट लगाएर सफा गर्नुहोस् । यसबाट मूर्ति चम्किलो बनाउन सकिन्छ । सफा मूर्तिले मन प्रसन्न राख्छ ।
पूजा सामग्री
यदि तपाईंसँग तामाका पूजा सामग्री छन् भने सफाइका लागि कागतीको रस वा टूथपेष्टको प्रयोग गर्नुहोस् । पूजाका अन्य सामग्री भने कपडा र डिटरर्जेण्ट पाउडरले पनि सफा गर्न सकिन्छ ।
दियो
नवरात्रिमा सो अवधिभर पूजाकोठामा अखण्ड दियो बाल्ने गरिन्छ । माटो तथा तामाबाट बनेका दियो घिउ तथा आगोका कारण कालो भएका हुन्छन् । यसलाई सफा गर्न साबुन तथा तातोपानीको घोलमा २०⁄२५ मिनेट डुबाएर राख्नुपर्छ । त्यसपछि यसमा जमेको तेल तथा कालो हटाउन ब्रशको सहायताले रगड्नुपर्छ ।
मूर्तिको कपडा
मूर्तिको आकर्षणका लागि विभिन्न रङ्गीन कपडाको प्रयोग गरिन्छ । नवरात्रिमा मूर्तिको कपडाको सफाइ पनि आवश्यक हुन्छ । सामान्यतया यो बेला दुर्गाको मूर्तिमा नयाँ कपडा लगाइदिने चलन छ । तर, कतिपय घरमा पुराना कपडा तथा गहनाकै प्रयोग गरिन्छ । त्यसको सफाइका लागि साबुन वा डिटर्जेण्ट पाउडर र पानीको घोलमा कपडा भिजाउनुहोस् र केही समयपछि रगडेर सफा गर्नुहोस् ।
घण्ट⁄शङ्ख
पूजामा शङ्खघण्टको ठूलो महत्व हुन्छ । धातुको पूजा घण्टी सफा गर्न कागतीको गुदी प्रयोग गर्न सकिन्छ । यसले घण्टीमा चमक ल्याउँछ । त्यस्तै, शङ्खको सफाइका लागि छानेको खरानी वा साबुनपानीको प्रयोग गर्न सकिन्छ ।
टायल
यदि पूजाकोठाको भित्ता तथा भुँइमा टायल लगाइएको छ त्यसको पनि सफाइ गर्नुपर्छ । त्यसका लागि साबुनपानीको घोल तयार गर्नुहोस् । धेरै फोहोर जम्मा भएको छ भने भिनेगार पानीमा मिसाएर पहिले टायल भिजाउनुहोस् । त्यसपछि कपडा वा ब्रशको सहायताले सफा गर्नुहोस् । यसो गर्नाले टायलमा पहिलेकै जस्तो चमक ल्याउन सकिन्छ ।