यसरी गरौं दशैंमा घरको आन्तरिक सजावट
काठमाडौं। दशैं भन्नेबित्तिकै खुशी र उमङ्गको चाड भन्ने बुझिन्छ । धेरै साथीभाइ तथा आफन्तजनसँग भेटघाट एवम् रमाइलो गर्ने अवसर मिल्ने भएकाले नेपालीहरूमाझ यो चाडको विशेष महत्व छ । दशैंमा आफ्नो घरलाई कसरी राम्रो, सफा र सुन्दर बनाउने भन्ने चासो सबैमा हुन्छ । दशैंमा घरको सम्पूर्ण आन्तरिक सजावट आवश्यक हुँदैन । त्यसैले, इष्टमित्रको आगमन हुने बैठक कोठा, डाइनिङ रूम तथा बेडरूमको सजावट गर्न सकिन्छ । यसो गर्नाले पैसा एवम् समय दुवैको बचत हुन्छ ।
दशैंमा रङरोगनलाई ठूलो महत्व दिइन्छ । रङले नै घर सफासुग्घर देखाउने गर्छ । रङ लगाउनुअघि समयलाई विशेष ध्यान दिनुपर्छ । थोरै समयमै घर तथा कोठामा रङ लगाउन सम्भव नहुन सक्छ । रङ सकेसम्म उज्यालो प्रकाश फाल्ने किसिमको हुनुपर्छ । हाम्रो संस्कृतिमा सुनौलो रङसँग रातो, सेतो, गेरु वा हरियो रङ समायोजन गरेर प्रयोग गर्नु शुभ मानिन्छ । गेरु रङलाई क्रीम वा अन्य उज्याले रङसँग मिसाएर लगाएमा यसले परम्परागत लूक्स दिन्छ । जस्तै, बैठक रूममा क्रीम र गेरु रङ समायोजन पेण्ट गर्न सकिन्छ । पेण्ट गर्दा उज्यालो र अँध्यारो रङको कम्बिनेशन गर्नु नै मूल मन्त्र मानिन्छ । कोठाका पर्दाका लागि पनि मिल्ने गरी रङ छान्न सकिन्छ । हल्का रङमा आफ्नो थीम कलर मिक्स गरी नयाँ लूक्स दिन सकिन्छ । यसैगरी कार्पेटलाई पनि थीमसँग मिल्दोजुल्दो गरी सजाउन मिल्छ ।
फर्निचरको पुनःसंयोजन
गलत तरीकाले राखिएको फर्निचरले घर÷कोठालाई भद्दा देखाउँछ । सकभर पलङ, कुर्सी, टेबल, डेक्स एवम् सोफाहरू भित्ताको प्रतिकूल हुने गरी राख्नु हुँदैन । फर्निचर पुनःसंयोजन गर्दा ढोकाको नजिक तथा धेरै हिँडडुल गर्ने ठाउँको अगाडि पनि राख्नु हुँदैन । चाडपर्वमा धेरैजना अट्ने गरी फर्निचर सजाउनुपर्छ । फर्निचर सकेसम्म कोठाको थिमसँग मिल्दो हुनुपर्छ ।
दियोको सजावट
दियो दशैं, तिहारलगायत चाडपर्वमा बढी प्रयोग गरिन्छ । माटो, पित्तल, तामा आदिका दियो बजारमा पाइन्छन् । विभिन्न प्रकारका दियोलाई फूल र रङहरूले सजाउँदा थप रमाइलो वातावरण कायम गर्न सकिन्छ ।
रङ्गीन मैनबत्ती
रङ्गीन मैनबत्तीले घरको वातावरण सुमधुर बनाउनुका साथै आनन्द पनि प्रदान गर्छ । यस्ता मैनबत्ती डाइनिङ टेबल, आन्तरिक बगैंचा, बैठक कोठाको लोकल प्वाइण्टका साथै मुख्य प्रवेशद्वारमा प्रयोग गर्न सकिन्छ । तिनलाई तामाको आरीमा पानी र फूलका साथ सजाउँदा शीतल तथा आनन्द महसूस हुन्छ ।
फूलको सजावट
ताजा फूलले कोठा र घरको सौन्दर्य बढाउनुका साथै मस्तिष्क ताजा बनाउँछ । फूलको गुच्छाले मनमा सकारात्मक प्रभाव पार्छ । फूललाई भगवान्को विशेष रचना मानिन्छ । त्यसकारण यसलाई घरको कुनै ठाउँमा रङ्गीन मैनबत्तीसँग प्रयोग गरेर अतिथिलाई न्यानो स्वागत दिलाउन सकिन्छ ।
रङ्गोली
रङ्गोली भगवान्, धन, समृद्धि आदिलाई स्वागत गर्न बनाइन्छ । रङ्गोलीले घरको सजावटमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । रङ्गोली विशेषगरी महिलाहरू बनाउँछन् । यो विभिन्न रेखाजडित, धार्मिक विषयवस्तु, थिम, गरगहना आदि डिजाइनमा बनाइन्छ । रङ्गोली बनाउँदा पीठो एवम् पात प्रयोग गरिन्छ । यो सजावटका साथै धार्मिक विधि पनि हो ।
दशैंलगायत चाडपर्वमा घर वा कोठा सजाउनुपर्दा बजारमा सहजै उपलब्ध हुने परम्परागत वस्तु एवम् रङ छनोट गर्नुपर्छ । ढाकाको कपडा, करुवा, पानस, लोक्ताका बत्ती र वालफ्रेम, वालपेपर, हस्तकला, माटोका मूर्ति आदिले आन्तरिक सजावटमा थप निखार ल्याउँछन् । यी वस्तुको प्रयोगबाट अतिथिको ध्यानाकर्षण हुनुका साथै आध्यात्मिक ऊर्जासमेत प्राप्त हुन्छ ।