हिमालयन रिइन्सुरेन्सले कात्तिक २१ देखि प्रिमियममा आइपीओ निष्काशन गर्दै
काठमाडौं । हिमालयन रिइन्सुरेन्स कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कात्तिक २१ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । हिमालयनले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३०% ले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
यसको १०% अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर २०६ रुपैयाँ दरमा आइपीओ जारी गर्न लागेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा मंसिर ५ गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्राएनपी इस्यूअर रेटिङ ए प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ । यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।