भिजन लुम्बिनी उर्जा कम्पनीले कात्तिक १६ गतेदेखि आइपीओ निष्काशन गर्ने
काठमाडौं। भिजन लुम्बिनी उर्जा कम्पनीले कात्तिक १६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १९ लाख १२ हजार ५ सय कित्ता आइपीओ जारी गर्न लागेको हो । यसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई सेयर बाँडफाँड गरिसकेको छ ।
स्थानीय बासिन्दालाई आइपीओ बाँडफाँड गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसहित कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । यसमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर १ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने ‘आइआरएन डबल बी माइनस इस्यूआर’ रेटिङ प्रदान गरेको छ ।