स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधिमा सुझाव दिन आग्रह
काठमाडौं । निर्वाचन आयोगले ‘स्थानीय तह मार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ मस्यौदामाथि सुझाव दिन आग्रह गरेको छ ।
आयोगका उपसचिव एवम् सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सरल, सहज र नागरिकको पहुँचयोग्य बनाउन तथा मतदाता नामावलीमा थप शुद्धता कायम गर्ने प्रयोजनका साथ स्थानीय तहबाट नै सो कार्य हुँदा प्रभावकारी हुने जनाइएको छ ।
उहाँका अनुसार मस्यौदा उपर सरोकारवालाको सुझाव सङ्कलनका लागि आयोगको वेबसाइटमा अपलोड गरिएको छ भने स्थानीय तह वा वडास्तरबाट नाम दर्ता गर्न इच्छुकले निर्वाचन कार्यालयमार्फत आयोगमा अनुरोध गर्न सकिनेछ ।
कुनै व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फारम भरी सम्बन्धित स्थानीय तहबाट जैविक विवरण दिनका लागि आफूलाई उपयुक्त हुने मिति प्रणालीबाट छनोट गर्न सकिने आयोगले जनाएको छ ।