विश्व भोकमरी सूचकांक: भोकमरीमा भारत र पाकिस्तान भन्दा नेपालको अवस्था राम्रो
काठमाडौं । विश्व भोकमारी सूचकांक (ग्लोबल हंगर इन्डेक्स) २०२३ मा नेपाल ६९औं स्थानमा आएको छ । युरोपेली गैरसरकारी संस्थाहरु ‘कन्सर्न वर्ल्डवाइड’ र ‘वेल्ट हंगर हाइलाइफ’ ले जारी गरेको १२५ वटा देशहरुको सूचीमा नेपाल ६९औं स्थानमा आएको हो । नेपालको भोकमारीको अवस्थामा सन् २०२२ को भन्दा सुधार भएको हो ।
सन् २०२२ मा नेपाल यस सूचकांकको ८१औं स्थानमा रहेको थियो । सूचीको शीर्ष स्थानमा पर्ने देशहरुमा भोकमारीको अवस्था न्यून रहेको जनाउँछ भने तल्लो स्थानमा रहेका देशहरु भोकमारीले ग्रस्त रहेको जनाउँछ । यता, ग्लोबल हंगर इन्डेक्समा अधिकांश विकासशील र निम्न आय भएका मुलुकहरु मात्र समावेश रहेका छन् ।
१२५ देशहरु समावेश यस सूचीमा भारत १११औं स्थानमा रहेको छ । भारतको स्थान सन् २०२२ को भन्दा झन् खस्किएको देखिएको छ । सन् २०२२ मा भने १२१ देशहरुको सूचीमा १०७औं स्थानमा रहेको थियो । दक्षिण एसियाली देशहरुमध्ये श्रीलंका सबैभन्दा अघि ६०औं स्थानमा रहेको छ भने पाकिस्तान १०२औं स्थानमा छ ।
यता, सूचकांकमा आर्थिक संकटग्रस्त पाकिस्तान भन्दा तल परेपछि भारतले भने आपत्ति जनाएको छ । भारतले यस सूचकांकलाई भोकमारीको गलत मापन र गम्भीर विधिगत समस्याहरुबाट ग्रस्त रहेको भन्दै अस्वीकार गरेको छ । ग्लोबल हंगर इन्डेक्सले भोकमारीको त्रुटिपूर्ण मापन जारी राख्दै भारतको वास्तविक स्थितिलाई प्रतिबिम्बित नगरेको भारतको महिला तथा बाल विकास मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।