टेरामक्स परियोजनाको सम्पूर्ण कागजात सात दिनभित्र बुझाउन दूरसञ्चार प्राधिकरणलाई लेखाको निर्देशन
काठमाडौं । सार्वजनिक लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) को सम्पूर्ण कागजात सात दिन भित्र बुझाउन निर्देशन दिएको छ ।
शुक्रबार बसेको लेखा समिति बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई टेरामक्स परियोजना सम्बन्धी सबै कागजात बुझाउन भनेको हो ।
दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिदै समितिले भनेको छ,‘टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भएकाले यो प्रविधि खरिद प्रक्रियाको प्रारम्भदेखि अहिलेसम्मका कागज एवं निर्णयको गतिविधि सात दिनभित्र समितिमा बुझाउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन छ।’
यो सँगै विवादित टेरामक्सको बिषय लेखासमितिमा प्रवेश पाएको छ । समितिले यो सँगै स्मार्ट टेलिकमको लाइसेन्स बिक्री प्रक्रियासमेत रोक्न निर्देशन दिएको छ ।
प्राधिकरणले तीन अर्ब ११ करोड रुपैयाँ लगानीमा टेरामक्स कार्यान्व्यन गर्न खोजेको थियो । तर, नेपालको दुरसञ्चार कम्पनीले प्राधिकरणको निर्णयलाई अस्विकार गरेपछि यो टेरामक्स विवादित बन्दै आएको थियो ।
विशेषगरी टेरामक्सले मोबाइल कल तथा एसएमएसलगायतका व्यक्तिगत विवरणसम्म पहुँच राख्ने हल्लाका कारण खरिद प्रक्रियादेखि नै टेरामक्स विवादित बन्दै आएको छ ।