उत्तरी गाजाका ११ लाख प्यालेस्टिनीलाई २४ घण्टाभित्र दक्षिणी गाजा जान इजरायली सेनाको उर्दी

इजरायली सेनाले उत्तरी गाजा क्षेत्रमा बसोबास गर्ने ११ लाख प्यालेस्टिनीलाई २४ घण्टाभित्र दक्षिण गाजामा जान उर्दी जारी गरेको छ । इजरायलले उत्तरी गाजामा स्थल आक्रमण गर्ने भन्दै सर्वसाधारणलाई दक्षिणी गाजा जान भनेको हो ।
अहिले इजरायलले गाजासँगको सीमा क्षेत्रमा ठूलो सङ्ख्यामा आफ्ना सैनिक तैनाथ गरेको बीबीसीले जनाएको छ । इजरायली सेनाले उत्तरी गाजा क्षेत्रबाट ११ लाख प्यालेस्टिनीलाई दक्षिण गाजा जान जारी गरेको उर्दी संयुक्त राष्ट्रसङ्घलाई पनि जानकारी गराएको छ । संयुक्त राष्ट्रसङ्घले यति ठूलो सङ्ख्यामा मानिस २४ घण्टामा दक्षिण गाजा जान नसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।
प्यालेस्टिनी विद्रोही समूह हमासले भने उत्तरी गाजामा बसोबास गर्दै आएका प्यालेस्टिनीलाई आफू बसेको ठाउँ नछोड्न भनेको छ । गाजा क्षेत्रमा शासन गर्दै आएको हमासले इजरायलले मनोवैज्ञानिक युद्ध गरिरहेको भन्दै ठाउँ छाडेर नहिँड्न भनेको हो ।
हमासले गएको शनिवार इजरायलमाथि आक्रमण गरेको थियो । त्यसपछि हमास र इजरायली सेनाबीच युद्ध चर्किएको हो । हमासको आक्रमणमा इजरायलतर्फ एक हजार तीन सय जनाभन्दा धेरैको ज्यान गएको छ भने इजरायली सेनाको आक्रमणमा एक हजार पाँच सय जनाभन्दा बढी प्यालेस्टिनी मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी