विदेशमा रहेका नेपालीहरूको मतदाता नामावलीका लागि कार्यविधि मस्यौदा तयार

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधिको मस्यौदामा सुझाव माग गरेको छ । विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८० को मस्यौदा तयार भएको भन्दै आयोगले सुझाव मागेको हो ।
उक्त मस्यौता सुझाव संकलनका लागि आयोगको वेवसाइटमा अपलोड गरिएको आयोगले जनाएको छ ।
मस्यौदामा रहेका व्यवस्थालगायत अन्य विषयहरू थप परिमार्जन वा सुधार गर्न सुझाव दिन चाहने विदेश वा स्वदेशमा रहेका नेपाली नागरिक, गैर आवासीय नेपाली संघ तथा अन्य सरोकारवालाहरूले कार्तिक मसान्तभित्र आयोगको इमेल ठेगाना [email protected] मा राय सुझाव उपलब्ध पठाउन आयोगले आग्रह गरेको छ ।
मस्यौदामा आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्न मुलुक तोकी उक्त मुलुकको सम्बन्धित कुटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने व्यवस्था गरेको छ ।
दर्ता गर्ने प्रयोजनका लागि दर्ता कर्मचारी तोक्न आयोगले परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने व्यवस्था गरेको छ ।
यस्तै मस्यौदा अनुसार विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत् फारम भरी जैविक (बायोमेट्रिक) विवरण दिन आफूलाई पायक पर्ने स्थान र मिति प्रणालीबाट छनोट गर्न सक्नेछन् ।
यस्तो छ आयोगको विज्ञप्ति