४० अर्बको व्यापार गरेको जगदम्बा स्टिल्सले प्रिमियममा आइपीओ जारी गर्ने, थप ४ कम्पनीले पनि बोर्डमा दिए आवेदन
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासनको अनुमति माग्दै ५ वटा कम्पनीले आवेदन दिएका छन् । याम्बालिङ हाइड्रोपावर, एपेक्स हस्पिटालिटी, माविलुङ इनर्जी, एसवाई प्यानल नेपाल र जगदम्बा स्टिल्सले आइपीओ निष्कासनको अनुमति मागेका हुन् ।
यसमध्ये जगदम्बाले १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम थप गरी ३०० रुपैयाँका दरले २ करोड ७० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । अनुमति पाएपछि यसले ६ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ । यसको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडका अनुसार जगदम्बा स्टिल्स लिमिटेडले सन् २०२३ मा ४० अर्ब १७ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
त्यसैगरी, एसवाई प्यानले नेपाल लिमिटेडले १०० रुपैयाँ अंकित दरमा ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । यसको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
यता, माविलुङ इनर्जी लिमिटेडले पनि १०० रुपैयाँका दरले १८ लाख ९० हजार ५३० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको छ। यसले कुल १८ करोड ९० लाख ५३ हजार रुपैयाँको सेयर बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्ने भएको छ ।
यता, एपेक्स हस्पिटालिटी लिमिटेडले पनि १०० रुपैयाँका दरले २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको छ । यसको बिक्री प्रबन्धकको काम हिमालयम क्यापिटलले गर्नेछ ।
यता, याम्बालिङ हाइड्रोपावर लिमिटेडले १०० रुपैयाँ अंकित दरमा २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर बिक्री गर्न अनुमति मागेको छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । यिनीहरुले सेबोनबाट अनुमति पाएपछि आइपीओ बिक्री गर्नेछन्।