ईसेवा र मलेसियाको सीबीएल मनि ट्रान्स्फरबीच सम्झौता

काठमाडौं । ईसेवा मनी ट्रान्स्फर र मलेसियाको सीबीएल मनी ट्रान्स्फरबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ। यो सम्झौतासँगै मलेसियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले सीबीएल मनी ट्रान्स्फरको १५ शाखाहरू वा मोबाइल एपबाट नेपालमा ईसेवा मनी ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सक्नेछन् ।
सम्झौतापत्रमा ईसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र सीबीएल मनी ट्रान्स्फरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजीले हस्ताक्षर गरेका हुन् । यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखिएको ईसेवा मनी ट्रान्सफरले जनाएको छ ।
सीबीएल मनी ट्रान्स्फरबाट पठाएको रेमिट्यान्स ईसेवा मनी ट्रान्स्फरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तीय संस्थाहरू तथा इसेवाका १००,००० भन्दा बढी क्यास प्वाइन्ट र ७५ लाख प्रयोगकर्ताहरूले वालेटबाट सहजै प्राप्त गर्न सक्ने ईसेवाले जानकारी दिएको छ ।
सम्झौताबारे बोल्दै ईसेवा मनी ट्रान्स्फरका सीईओ कोइरालाले भने, ‘सीबीएल मनी ट्रान्स्फरको रेमिट्यान्स भुक्तानी सम्झौताबाट हामी निकै उत्साहित छौँ। सीबीएल मनी ट्रान्स्फर मलेसिया मार्फत अब नेपालमा रेमिट्यान्स पठाउन मिल्ने भएकाले विदेशमा रहनुभएका नेपालीहरूलाई सुरक्षित र भरपर्दो माध्यमबाट आफ्नो घर रेमिट्यान्स पठाउन थप सहजता हुने कुरामा हामीलाई विश्वास छ .’
ईसेवा मनी ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । ईसेवा मनी ट्रान्स्फरले सेवाग्राहीहरूलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनी ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।