देशभर २८ गतेदेखि रुटपर्मिट खुल्ला, भाडा वृद्धिको मागबाट पछि हटे यातायात व्यवसायी
काठमाडौं । यातायात व्यवस्था विभागले दशैंलाई लक्षित गर्दै असोज २८ गतेबाट देशभर रुट पर्मिट खुल्ला गर्ने भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी र सरकार बीच भएको छलफलमा ११ निर्णय गर्दै पर्मिट खुल्लासँग भाडा वृद्धि तत्काल नहुने भएको हो ।
यातायात व्यवसायी यस अघि लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि नभएसम्म दशैंको लागि अग्रिम टिकट बुकिङ नखोल्ने बताएका थिए । तर, यातायात मन्त्रालयमा भएका छलफलमा यातायात व्यवसायी भाडा वृद्धिको मागबाट पछि हटेका हुन् ।
सोहि शुक्रबारको बैठकले चाडपर्वलाई लक्षित गर मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा असोज २२ गते अर्थात भोलिबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ । त्यसैगरी यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने बताइएको छ ।
त्यसैगरी अनधिकृत काउन्टर, परिचय पत्र, पेशाक नभएका व्यक्तिहरुबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः नियन्त्रण गर्ने तयारी छ । बैठकले अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरु २०८० साल असाेज २८ गतेदेखि कार्तिक ०८ गतेसम्म नारायणघाटदेखि काठमाडौसम्म सञ्चालन गर्न रोक लगाउने भएको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय स्वाँरले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने र भाडा वृद्धिको विषयमा चाडपर्वपछि कमिटि गठन गर्ने निर्णय भएको जानकारी दिए ।
‘हामीले चाडपर्वको मुखमा भाडा वृद्धिको मागले गलत सन्देश जाने र यातायात प्रभावित हुने भएकाले यो विषयलाई तत्काल स्थिगित गरिएको हो,’ उनले भने, ‘चाडपर्वमा यातायात व्यवसायीको काम यात्रुलाई सहज तरिकाबाट गाउँसम्म पुर्याउने हो’ ।