अर्थतन्त्र सुधारमा ढिलो नगर्न उद्योग परिसंघ अध्यक्ष अग्रवालको आग्रह
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र सुधार्न ढिलो नगर्न आग्रह गरेका छन् । केही समय अगाडि विदेशी मुद्रा संचितीमा परेको दबाबका कारण चालिएको कदम र आवश्यकता भन्दा बढी उपचार गर्दा आजको यो अवस्थामा अर्थतन्त्र आइपुगेको भन्दै उनले तत्काल देखिने गरी सुधार थाल्न आग्रह गरेका हुन् ।
बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनको समुद्घान समारोहमा अध्यक्ष अग्रवालले ढिलो गरिने उपचारले समाधान नदिन सक्नेतर्फ ध्यान दिन सरकार एवं नियामक निकायलाई अनुरोध गरेका छन् । गम्भिर अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि सरकार, राजनीतिक दल, कर्मचारीतन्त्र, नियामक निकाय सबैले उच्च प्राथमिकता दिनुपर्ने उनले बताए ।
‘हामीले यस्तो विषम आर्थिक चुनौतीको समयमा पनि अर्थतन्त्र सुधार भन्दा राजनीतिक मुद्धाहरुमा नै ध्यान केन्द्रीत गर्ने हो भने आर्थिक हिसाबले मुलुक निकै अप्ठ्यारो अवस्थामा पुग्ने निश्चित छ’, उनले भने ‘त्यसपछि सुधारको प्रयास गर्दा पनि सुधार हुन निकै समय लाग्ने र त्यसबेलासम्म अन्य क्षेत्रलाई समेत नराम्रोसँग प्रभावित पार्न सक्छ ।’
उनले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र र मकवानपुरको मयूरधाप औद्योगिक क्षेत्र सार्वजनिक निजी साझोदारी मोडलमा उद्योग परिसंघलाई निर्माण तथा सञ्चालन गर्न दिन अनुरोध गरे । यस सम्बन्धी आशय यसअघि नै परिसंघले संघीय उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयलाई बुझाइसकेको छ ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको क्षेत्राधिकारभित्र औद्योगिक क्षेत्र नपर्ने भन्दै निर्माण एवं सञ्चालनका लागि संघीय सरकारलाई सिफारिस गरेको बताए । उनले आगामी कात्तिकमा बागमती प्रदेशमा लगानीको सम्भावनाबारे निजी क्षेत्रसहितका सरोकारवालाहरुसँग वृहत छलफल गर्ने बताए ।
कोटा प्रणालीका कारण डाक्टर, नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरु पलायनताको खतरा बढेको भन्दै उनले बागमती प्रदेशभित्र डाक्टर, नर्सिङ अध्ययनका लागि सिटको सीमा हटाउने घोषणा गरे । कार्यविधि बनाएर शुल्कको सीमा तोक्ने पनि उनले बताए ।