औद्योगिक सम्बन्ध अभिबृद्धिका लागि सिएनआइ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच ऐतिहासिक समझदारी
काठमाडौँ । नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रबीच सुमधुर औद्योगिक सम्बन्ध अभिवृद्धिका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । रोजगारदाता र श्रमिकबीच समझदारी गरी अगाडि बढेको सम्भवतः दक्षिण पूर्वी एसियाकै पहिलो हो ।
समझदारीपत्रमा नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष राजेशकुमार अग्रवाल र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका तर्फबाट अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षर गरे । समझदारीपत्रमा हस्ताक्षर गर्ने विशेष कार्यक्रममा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रमा आवद्ध सबै ट्रेड युनियनका पदाधिकारी एवं प्रतिनिधि सहभागि थिए।
समझदारीपत्रको मुख्य उद्देश्य रोजगारदाता र श्रमिकबिच असल श्रम सम्बन्धको विकास गर्दै लगानीको वातावरण निर्माण गरी मुलुकभित्र रोजगारीका थप अवसरहरु सिर्जना, जिवनस्तर विकास, उत्पादकत्व वृद्धि गर्दै मुलुकको समग्र आर्थिक विकासमा योगदान गरेको छ ।
कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले विश्व श्रम बजारको इतिहासमा श्रमिक र रोजगारदाताहरुको विषय, सवाल, मुद्दामा आधिकारीक रुपमा सहकार्य भएको सम्भवत यो पहिलो अभ्यास भएको बताए । यस प्रकारको सहकार्य तथा समझदारीले उत्पादन, सीप, रोजगारीका समस्या तथा चुनौतीहरुलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास ब्यक्त गरे ।
श्रमिक र रोजगारदाताबीचको सौहार्दपूर्ण सम्बन्धबाट नै आर्थिक संमृद्धि हासिल गर्न योगदान दिन सकिन्छ भन्नेमा परिसंघले विश्वास राख्दै आएको भन्दै उनले मजदुर र मालिक होइन, यी दुई आर्थिक संमृद्धिको सहयात्री हुन् भन्ने विषयलाई आत्मसाथ गर्दै आएको बताए । अध्यक्ष अग्रवालले यो समझदारी विदेशी लगानीकर्ताका लागि समेत सुखद् सन्देश बन्ने विश्वास व्यक्त गर्नुभयो ।
केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले विगतमा रोजगारदाता र श्रमिकको सम्बन्ध “बाघ र बाख्रा” जस्तो दोन्द्धात्मक परिस्थितिको स्मरण गर्नुहुँदै हाल रोजगारदाता र श्रमिकबीचको सम्बन्ध “पानी र माछा” भएको बताए । यो सम्बन्धलाई आत्मसाथ गर्दा रोजगारदाता र श्रमिकबीच सौहार्दपूर्ण वातावरण तयार भएको र रोजगारदाताहरुसँग समझदारी गरेर अगाडि बढ्ने सकिने चरणमा आइपुगेको बताए ।
परिसंघका उपाध्यक्ष भिम घिमिरेले यस समझदारी देशको आर्थिक सुमुन्नति, औद्योगिक विकास, वैदेशिक लगानीको वातावरणलाई आकर्षित गर्न मुख्य औजार बन्ने विश्वास व्यक्त गरे ।