नेपाल क्रिकेट संघ र आईएमई डिजिटल सोलुसनबिच रणनीतिक साझेदारी
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र आई मई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे) बिच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुरूप आई एम ई डिजिटल सोलुसन लिमिटेड अबको २ वर्षको लागि नेपाल क्रिकेट संघले देश भित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलहरूको टिकेटिङ्ग पार्टनरका रूपमा रहने छ ।
सम्झौता लागु भएसँगै आउँदो २ वर्षको समय अवधिमा नेपाल क्रिकेट संघले नेपालमा आयोजना गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय खेलहरूको फिजिकल र अनलाइन टिकेटको विक्रीको जिम्मेवारी पनि आई एम ई पे ले पाएको छ। राजधानीमा बिहीबार सम्पन्न एक समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। पत्रमा नेपाल क्रिकेट संघको तर्फबाट सचिव पारस खड्का र आई एम ई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट आई एम ई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले हस्ताक्षर गरे ।
नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलता र ख्यातिलाई संस्थागत गर्दै सिङ्गो नेपाली क्रिकेटको विकास र विस्तारका लागि सम्पूर्ण क्षेत्रको संयुक्त पहलको आवश्यकता रहेको छ। सोही आवश्यकता महसुस गरी यो समझदारी भएको जनाइएको छ ।
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले, आई एम ई पे सँगको यो साझेदारीले नेपाली क्रिकेटको बहुआयामिक विकासमा सहयोग पुग्ने बताए। उनले भने, ‘नेपाली क्रिकेटको स्तर वृद्धि र दिगो विकासका लागी आउँदो दिनहरूमा हामीले अन्तर्राष्ट्रिय टोलीहरूसँग धेरै भन्दा धेरै खेलहरू खेल्नु पर्ने अवस्था रहेको छ। यसै बिचमा आई एम ई पे जस्तो संस्थाले नेपाली क्रिकेटमा लगानी गर्ने निर्णय गर्नु हामी सबैका लागि खुसीको खबर हो। यो साझेदारी बनाउने मौका दिनु भएकोमा म मेरो व्यक्तिगत र सिङ्गो नेपाल क्रिकेट संघको तर्फबाट आई एम ई डिजिटल सोलुसन लिमिटेडलाई हार्दिक धन्यवाद समेत ज्ञापन गर्न चाहन्छु।’
यस्तै, नेपाली क्रिकेटको विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आई एम ई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए । उनले भने, ‘नेपाली क्रिकेटको विकासमा क्यानसँग सहकार्य गर्ने मौका दिएकोमा क्यानलाई धन्यवाद दिन चाहन्छु ।’ यसै गरी आइएमई ग्रुपले क्रिकेटर करन केसी र सोमपाल कामीलाइ ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । आइएमईले खेलाडीको मनोबल बढाउन प्रतिबद्ध रहेको भन्दै नयाँ ब्राण्ड एम्बेसडरहरु मार्फत आइएमई ग्रुपको साख बढाउन सहयोग पुग्ने विश्वास लिइएको बताएको छ ।