कुश्मादेखि नयाँ बुटवल सबस्टेसनसम्मको प्रसारण लाइन सम्पन्न, मिस्ट्री खोला आयोजनाबाट उत्पादित ४२ मेगावाट बिजुली निकासी हुने
काठमाडौं । कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । उक्त प्रसारण लाइन सम्पन्न भएलगतै माउन्टेन इनर्जीको मिस्ट्री खोला आयोजनाबाट उत्पादित ४२ मेगावाट बिजुली निकासी हुने भएको छ ।
कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको प्रसारण लाइन निर्माणको काम सकिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । ‘प्रसारण लाइनको काम दुई दिन अघि नै सकिएको छ,’ उनले भने, ‘अब आयोजनाबाट उत्पादित बिद्युत प्रसारण लाइनमा प्रवाह गरिने छ ।’
उक्त प्रसारण लाइनमा निर्माण सम्पन्न भएपछि कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत जोडिने छ । उक्त बिजुली भारतसम्म निकासी गर्न सकिने भएको छ ।
कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरेका थिए । प्रसारण लाइनबाट करिब एक हजार दुई सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ ।
उक्त प्रसारण लाइनमा माउन्टेन इनर्जीले निर्माण गरेको मिस्ट्री खोला आयोजनाबाट उत्पादित बिजुली पनि जोडिने छ । उक्त कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई साधारण शेयर निष्कासन गरिसकेको छ । उक्त कम्पनीको शेयर दोस्रो बजारमा कारोबार भइरहेको छ । माउन्टेनले नुवाकोटमा ५ मेगावाटको तादी खोलाको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ ।
मिस्ट्री खोला आयोजनाबाट उत्पादित विद्युत निकासी हुने भएपछि कम्पनीको आम्दानी बढ्ने छ । यसबाट बैंकको कर्जा तिर्न र लगानीकर्ताले प्रतिफल (लाभांश) पाउने अवस्था आउने छ ।
उक्त प्रसारण लाइन दुई खण्डमा गरी निर्माण गरिएको हो । यसअघि नै पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको थियो । पहिलो खण्डमा नै खुर्कोटमा २२०-१३२ केभी र दानामा २२०-१३२-३३ केभी सबस्टेसन निर्माण भइसकेका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भूमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको एक सय २७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण गरिएको हो ।
केही समय अघि उक्त प्रसारण लाइन निर्माणमा ढिलाइ भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थल अनुगमन गरी आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या र समाधानका उपायबारे छलफल गरेका थिए । छलफलपछि प्रसारण लाइनको निर्माण साउनभित्रमा गर्ने नयाँ तालिका तय गरिएको थियो । तर, मौसमका कारण निर्धारित समयमा प्रसारण लाइन सम्पन्न हुन सकेको थिएन ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि कालीगण्डकी करिडोर प्रसारण लाइन अत्यन्तै महत्वपूर्ण र संवेदशील भएको बताए । उनले यो लाइन बनेपछि म्याग्दी, पर्वत, कास्की र लमजुङ जिल्लामा निर्माण भएका जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाह र निकासी गर्न सहज हुने उल्लेख गरे ।