“बासेन्जी” चलचित्रमा मानसिक तरङ्गको यात्रा दिने प्रयास गरेको छु׃ इयन स्कट क्लेमेन्ट
यही असोज २६ का दिन नेपाली चलचित्र क्षेत्रले एउटा नयाँ प्रकारको साइकोलोजिकल थ्रिलर चलचित्र पाउँदै छ – “बासेन्जी” । नेपालमा पहिलो पटक भिडियो गेम कथाशैलीमा बनाइएको चलचित्र “बासेन्जी” का निर्देशक अमेरिकी नागरिक इयन स्कट क्लेमेन्ट हुन् । गौरीशङ्कर इन्टरटेनमेन्टबाट सुरज मैनालीको निर्माणमा बनेको “बासेन्जी” हरर जनरामा निर्माण गरिएको चलचित्र हो । यो चलचित्रका निर्देशक क्लेमेन्टसँगको छोटो कुराकानी –
तपाईंले नेपाली चलचित्र नै बनाउने निर्णय किन गर्नुभयो? केले प्रेरणा दियो?
मैले नेपाली चलचित्र बनाउने रोजाइ गरेको होइन, नेपाली चलचित्रहरूले मलाई रोजेका हुन् । म उच्च शिक्षा लिँदा-लिँदै नै मेरो नेपाली मित्र विराजसँग नेपाल आएँ, नेपालमै रमाए, नेपालमै प्रेरणा पाएँ र यहीँ बस्ने निधो गरेँ ।
तपाईंको पहिलो चलचित्र “आँपको अचार”को अनुभव कस्तो थियो? के त्यो सिनेमाले तपाईंलाई बासेन्जी बनाउन मद्दत गर्यो?
आँपको अचार एउटा बेग्लै यात्रा थियो । नेपालको बारेमा मात्र होइन, एउटा चलचित्रकर्मी हुनुको शिक्षा पनि मैले त्यही चलचित्रबाट पाएँ । त्यही चलचित्रमा बनेका मेरा साथीहरूसँगको सहकार्यले मलाई “बासेन्जी” बनाउन मद्दत गरेको छ ।
अन्य चलचित्रभन्दा “बासेन्जी” कसरी फरक छ? नेपाली दर्शकले के नयाँ पाउलान्?
यो चलचित्र दर्शकहरूका लागि सिनेमा हेर्नु भन्दा पनि एउटा कुनै सपना, वा एउटा मानसिक तरङ्गको यात्रा दिने प्रयास मैले गरेको छु । सिनेमाघरमा यो चलचित्र हेर्नु भनेको लामो समयसम्म यो चलचित्र सम्झिरहनु नै हुनेछ ।
एउटा निर्देशककै परिप्रेक्ष्यमा “बासेन्जी”का बारेमा थोरै बताउनुहोस् न ।
म शब्दहरूमा यो चलचित्रको बारेमा भन्नै सक्दिनँ किनकि त्यो भावना नै यो चलचित्र आफै नै हो । शब्दमा लेख्न सक्ने भए म यसलाई एउटा पुस्तक नै बनाउने थिएँ नि, हैन र? भन्दै गर्दा पुरानो कुरा दोहोर्याएको जस्तो लाग्ला – तर चलचित्रका बारेमा बुझ्न चलचित्र हेर्नै पर्छ ।
मनोवैज्ञानिक थ्रिलर चलचित्र नै किन?
खासैमा भन्नु पर्दा यो चलचित्रको जनरा जेसुकै भए पनि म खुसी नै हुन्छु । यसलाई मनोवैज्ञानिक थ्रिलर बनाउँछु भनेर बनाएको होइन, बन्दै जाँदा थ्रिलर जनराको बनेको हो । अचेलको जेन्डर रोल जस्तो “यो-त्यो” होइन, यसको कुनै जेन्डर नै छैन – नन-बाइनरी हो यो ।
तपाईंले यो चलचित्र भिडियो गेमको शैली – प्रथम पुरुष र तृतीय पुरुष शैलीमा नै किन बनाउनु भयो?
दर्शकहरूलाई अनिश्चितताको यात्रामा लिएर जानका लागि । क्यामराको आँखाले मात्र देखेका कुरा यदि तटस्थ भएर हेर्न सकिन्छ भने सबै प्रश्नहरू गर्न स्वतन्त्र पनि भइन्छ । आफूले जसरी बुझ्दै गयो, त्यसरी नै कथा खुल्दै जान्छ र हरेक मोडमा छक्क पार्न सक्ने तत्त्वहरू पनि पाउन सकिन्छ । त्यसका लागि मैले कहिले प्रथम पुरुष त कहिले तृतीय पुरुषमा कथा भनेको हुँ, जुन हालसम्म भिडियो गेममा मात्र छ – तर यसलाई चलचित्रमा ल्याउँदा आफू नै पात्र हुन् पाइन्छ । प्रथम पुरुष देखाउन मैले टाउकोमा राख्न सकिने क्यामरा माउन्ट तयार गरेको हुँ, जसलाई दृश्य देखाउन सकिने क्षेत्रमा मात्र प्रयोजन गरियो र पात्रको विस्तार गर्न सोही क्यामराले खिचेको दृश्यमात्र प्रयोग गरियो । तृतीय पुरुषको कथाका लागि भने गिम्बल प्रयोग गरियो जसलाई केन्द्रीय पात्रको दायराभित्र मात्र सीमित गरियो । सिनेमा काट्ने बेला यी दुई ध्रुवहरूलाई मध्यनजर गरेरै काट्यौं हामीले जसका कारण टाढाका दृश्य, नजिकको क्लोज अप कुनै रहने ठाउँ नै हुँदैन । यो दायराका कारण दर्शक आफ्नै संसारमात्र हेरिरहेको अनुभव गर्नेछन्, जुन पूर्ण मनोवैज्ञानिक हुन जान्छ ।
सिनेमाको नाम किन “बासेन्जी” राखियो?
माफ गर्नुहोला, त्यो चैं म भन्दिनँ । तपाईंले गुगल गर्दा आफै केही पाउनुहुन्छ होला तर सिनेमाको अन्तरकुन्तरका कुरा बुझ्न सिनेमा नै हेर्नुपर्छ, त्यो पनि बारम्बार ! मेरो जीवनकालभित्रमा कसैले सिनेमा के हो पत्ता लगायो भने म उसलाई बियर ख्वाउँछु !
यो बाहेक पनि चलचित्रहरूको योजना छ ?
“आइ विस आइ डिन्ट ह्याभ टु डु दिस” भन्ने लघुचलचित्र बनाउँदै छु, जुन अर्को वर्षसम्म विभिन्न फिल्म फेस्टिबलमा जाला । विगत १० वर्षदेखि “यिथ सेक” नाम गरेको प्रोजेक्टको योजना पनि छ, जुन ह्याकर, एलियन, आतङ्कवाद, राजनीति, आदि विभिन्न विषयहरूमा छ, जुन म अहिल्यै बुझाउन पनि सक्दिनँ । यसबाहेक म्युजिक भिडियोहरू गर्दै छु, जुन मेरी प्रेमिका सिर्जना (अभिनेत्री तथा मोडल सिर्जना रेग्मी) सँग गर्दै छु । उनी निकै अब्बल गीतकार र गायिका पनि हुन् जसलाई मलाई जस्तै डरलगाउने कुराहरू मन पर्छन् । हाम्रा पुराना कामहरू तपाईंले युट्युबमा देख्न सक्नुहुन्छ ।