कम्पनी दर्ता र पुँजी वृद्धिमा शुल्क नलाग्ने व्यवस्था लागू
काठमाडौं। चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसार नयाँ कम्पनी दर्ता तथा पुँजी वृद्धिमा शुल्क नलाग्ने व्यवस्था लागू भएको छ । नयाँ व्यवस्थाबारे राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त व्यवस्था लागू गरेको हो ।
नयाँ आर्थिक वर्ष सुरुवात साउन १ बाट यो व्यवस्था लागू हुनुपर्ने भए पनि आवश्यक गृहकार्य नपुगेपछि मन्त्रालयले लागू गर्न सकेको थिएन । आर्थिक ऐन २०८० मा कम्पनी दर्ता र पुँजी वृद्धिमा लाग्ने शुल्क शतप्रतिशत छुट हुने व्यवस्था गरेको थियो ।
राजपत्रमा जारी सूचना अनुसार कम्पनी ऐन २०६३ को दफा ५ अनुरूप प्राइभेट तथा पब्लिक कम्पनीलाई यो व्यवस्था लागू हुनेछ । विदेशी कम्पनीका कार्यालय तथा सम्पर्क कार्यालय दर्ता तथा मुनाफा वितरण नगर्ने कम्पनीका हकमा पनि यो व्यवस्था लागू हुनेछ ।