एनएमबि ५० र हाइब्रिड फन्ड एल–१ को बुक क्लोज मिति तय
काठमाडौं। ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल–१’ ले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति घोषणा गरेका छन् । एनएमबि क्यापिटलका अनुसार दुवै म्युचुअल फन्डको इकाईका लागि असोज १२ गते शुक्रबार बुक क्लोज हुनेछ । तसर्थ, असोज ११ गतेसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् । तर ११ गते बिहीबार इन्द्र जात्रा परेको छ ।
यस पर्वमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुन्छ । उपत्यका विदामा नेप्से तथा सेयर बजार बन्द हुन्छ । यसआधारमा बुधबार असोज १० गतेसम्म कायम इकाईधनीले मात्र यी दुई म्युचुअल फन्डले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।
एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल–१’ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश यसअघि नै घोषणा गरिसकेका छन् । दुवै फन्डका इकाईधनीहरुले आर्थिक वर्ष २०७९–८० को नाफाबाट करसहित १५% का दरले नगद लाभांश (प्रतिफल) पाउने क्यापिटलले जानकारी गराएको छ ।