सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन सम्पन्न
चितवन । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटीभहरू सहित करिब २०० भन्दा बढी सहभागीहरूको उपस्थितिमा सौराहाको होटल सेभेन स्टारमा दोस्रो सूर्यज्योति सेल्स कन्भेन्सन सम्पन्न गरेको छ ।
कम्पनीका सञ्चालक समिति अध्यक्ष केशवप्रसाद भटराई, सदस्यहरू नन्दकिशोर शर्मा, हेमन्त नहाटा, विवेक झा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का लगायत उच्च पदाधिकारीहरूको उपस्थितिमा कन्भेन्सन आयोजना गरिएको संस्थाले जानकारी दिएको छ ।
उक्त कार्यक्रममा व्यवसाय, अभिकर्ता नियुक्ति र बीमा लेखको आधारमा उत्कृष्टता हासिल गर्न सफलमध्ये उत्कृष्ट १० जना ब्रान्च म्यानेजर र १० जना सेल्स एक्जिक्युटिभहरूलाई सम्मान गरिएको छ । उक्त कार्यक्रममा प्रत्येक विधामा सर्वोत्कृष्ट ३ जनालाई ट्रफी तथा सम्मानपत्र हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
दोस्रो सेल्स कन्भेन्सनबाट कम्पनीको हालको अवस्था र आगामी बजार विस्तार योजना र रणनीति सम्बन्धी बृहत ज्ञान प्राप्त गर्ने अवसर पाउँदा थप उत्साहित भएको सहभागीहरूले बताएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सूर्या लाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जर पश्चात कम्पनीले हरेक सुचकहरूमा उलेखनीय सफलता हासिल गर्दै आइरहेको साथै समय सापेक्ष उत्कृष्ट योजना र नवीनतम प्रविधिको अवलम्बन गर्दै देशको जीवन बीमा क्षेत्रकै उत्कृष्ट सूर्यज्योति लाइफ बन्नेमा आफू ढुक्क रहेको बताए ।
सञ्चालक विवेक झाले कम्पनीसँग बेस्ट प्रोडक्ट, देशभर फैलिएको शाखा सञ्जाल, उत्कृष्ट सेल्स टीम र दक्ष कर्मचारीहरूको साथ रहेको हुँदा आगमी दिनमा जीवन बीमा कम्पनीहरूमा सूर्यज्योति नै अब्बल हुने कुरामा आफूले दृढ विश्वास लिएको जानकारी गराए । सञ्चालक नन्दकिशोर शर्माले कम्पनीको वृहत्तर हित र उन्नतिका लागि सञ्चालक समिति सदैव सकारात्मक रहेको उल्लेख गरे ।
कम्पनीका अध्यक्ष केशवप्रसाद भटराईले उपस्थित सम्पूर्ण सहभागीहरूलाई धन्यबाद दिनुका साथै व्यापार विस्तार गर्ने क्रममा कम्पनीले संस्थागत सुशासन तथा जोखिमहरूको सुक्ष्म पहिचान गरी व्यवस्थापन गर्नुपर्ने र बीमा प्राधिकरण बाट जारी भएका सम्पुर्ण नीति नियमहरू अनिवार्य पालना गर्नुपर्नेमा जोड दिए ।