सिनर्जी पावरको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडाैं। सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज आइतबार (भदौ ३१ गते) अन्तिम दिन हो । यसमा आजसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी गराएको छ । यसले भदौ ३ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।
यसले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार १ सय अंकित मूल्यमा ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीमा ल्याएको छ । उक्त हकप्रद सेयरका लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, साउन ११ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।
यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । हकप्रदमा सानिमा क्यापिटल र सानिमा बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि सिनर्जीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।