आजदेखि सुरू हुँदै नाडा अटो शो, अटोमोबाइल व्यवसाय चलायमान हुने अपेक्षा
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो २०२३ सुरु हुँदैछ। करिब तीन वर्ष रोकिएको अटो शो, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भदौ ३१ सम्म चल्नेछ। नाडा अटो शोको सम्पूर्ण तयारी पुरा भएको नाडाले जनाएको छ।
अटो शोमा ठूला तथा साना गरी करिव १२० स्टल र ब्लकहरु रहनेछन्। प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक, वस्तु तथा सेवा प्रदायकको सहभागिता रहनेछ।
प्रदर्शनीमा चार पाङ्ग्रे १६ र दुई पाङ्ग्रे २२ ब्रान्डको सहभागिता रहनेछ। ७ ब्रान्डका लाइट कमर्सियल भेइकल, ९ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको नाडाले जनाएको छ।
विभिन्न कारणले विगतमा सुस्ताएको अटोमोबाइल व्यवसाय अब केही चलायमान हुने अपेक्षा नाडाले राखेको जनाएको छ।
त्यसैगरी यस प्रदर्शनीको सम्पूर्ण व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एण्ड मेनजमेन्ट सर्भिस प्रा.लिले गर्ने भएकाे छ।
नाडा अटो एक्सपाे २०२३ मा सहभागी हुने अटोमोबाइल कम्पनीहरूले आफ्ना नयाँ मोडलका सवारी साधनहरूको बिक्रीका लागि विभिन्न छुट र सुविधा सहितका प्याकेजहरू समेत दिनेछन्। प्रदर्शनीमा एक लाखभन्दा बढीले अवलोकन गर्ने र करिब २० अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा नाडाको छ।
यसपटक बीवाईडी, एमजी, नेटा र वुलिङले ईभीलाई मात्र प्रदर्शनीमा राख्ने छन्। नयाँ ईभी ब्रान्डका रुपमा सेरेस, मेक्सस र जी ईभी जस्ता नयाँ ब्रान्ड पहिलोपटक नाडा अटो शोमा सहभागी हुँदैछन्। यसैगरी सिट्रोन, ग्रेटवाल, हुन्डाई, किया, निसान र टाटाका भने इलेक्ट्रिक कारसँगै कम्वसन गाडीलाई स्टलमा देख्न पाइनेछ। फोर्ड, महिन्द्रा र सुजुकीसँग इलेक्ट्रिक कार नभएका कारण यी ब्रान्डका स्टलमा दर्शकले कम्वसन इन्जिनयुक्त गाडीमात्र अवलोकन गर्न पाउनेछन्।
नाडा अटो शो २०२३ मा दुई पाङ्ग्रेतर्फ आफ्टेक, बजाज, बेनेली, इभोक, जावा, होन्डा, कोमाकी, केटीएम, लेकट्रो, लेभ्निङ लगायतका ब्रान्ड छन्। एनआईयू, प्योर ईभी, रोयल इन्फिल्ड, सेग्वे, स्लेन, सुनरा, सुजुकी, टीभीएस, भेस्पा, अप्रिलिया, याडिया, जोनटेसलगायत विद्युतीय र चल्तीका ब्रान्ड हुने छन्।