ब्रिटिस कलेजले आयोजना गरेको ‘ई–स्पोर्टस् टुर्नामेन्ट’ सम्पन्न, विजेता टिमलाई १ लाख पुरस्कार
काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले आयोजना गरेको ‘ई–स्पोर्टस् टुर्नामेन्ट– २०२३’ सम्पन्न भएको छ । थापाथलीस्थित कलेज हातामा बुधबारदेखि सुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।
प्रतियोगितामा तीन खेलहरु ‘भालोरेन्ट’, ‘फिफा’ र ‘पब्जी’ समावेश गरिएको थियो । कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेल तथा डेप्युटी प्रिन्सिपल डा. प्याट्रिक म्याककर्डेनले संयुक्त रुपमा उद्घाटन गरेको खेलमा देशभरका ११२ टिमबाट ५०० भन्दा बढी खेलाडीहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको पहिलो दुई दिन छनोट चरणका खेलहरु भएका थिए । त्यस्तै, अन्तिम दिन शुक्रबार फाइनल चरणका खेलहरु भएका थिए । भालोरेन्ट खेलको विजेता टिम ‘नो टक वन्ली किल’ बन्यो भने उपविजेताको स्थान ‘नेफोली’ले प्राप्त गर्यो ।
त्यस्तै, पब्जीतर्फ ‘अण्डरग्याङ्ग’ विजेता बन्दा ‘माइटी माफिया’ले उपविजेताको स्थान हासिल गर्यो । फिफातर्फ ‘नोटोरियर’ विजेता र ‘गोर्खा स्ट्रङ्ग’ उपविजेता बन्यो।
सबै विधातर्फका विजेता टिमहरुले १–१ लाख रुपैयाँ तथा उपविजेता टिमहरुले ३३–३३ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै, कलेजले विजेता टिमका खेलाडीहरुलाई छात्रवृत्ति पनि प्रदान गरेको छ।
प्रतिस्पर्धीहरुले प्रायोजकहरु सुविसु केबलनेट प्रालि, लेभल अप, खतरा गेमिङ, मरिच क्याफे र द रस्टी स्पोर्टस् बारको तर्फबाट पनि पुरस्कारहरु प्राप्त गरेका छन्।
कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेलले प्रतियोगिताका विजेताहरुलाई धन्यवाद दिंदै नेपालले ई–स्पोर्टसका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको ख्याति कमाउँदै गइरहेको बताए ।