कोशी अस्पतालमा ‘मोबाइल एप’ सेवा सुरू, अनलाइनबाटै ओपीडी टिकट लिन सकिने
काठमाडौं । कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा ‘मोबाइल अस्पताल एप’ सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन्। बिरामीहरूले ओपीडी टिकटहरू बुकिङ र खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्टहरू पनि एपबाटै प्राप्त गर्ने सक्ने छन् ।
यसै गरी स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बिमा भएका प्रयोगकर्ताहरूले समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र आफ्नो बिमा जानकारी राखेर प्रमाणीकरण गर्न पनि सक्ने छन् ।
यो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाममा पर्खनु पर्ने झन्झटलाई कम गर्ने छ । यसले अस्पतालको सेवालाई समेत थप पहुँचयोग्य र सुलभ बनाउन सहयोग पुग्ने छ ।
दशकौँ लामो समयदेखि बिरामीहरूलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आएको कोशी अस्पतालले मोबाइल एप मार्फत समेत सेवा थालेर आफ्नो सेवालाई थप उन्नत बनाएको छ ।