फुट्यो ‘पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसन’,’पेट्रोलियम व्यवसायी संघ नेपाल’ ले गर्याे नयाँ संस्था दर्ता

काठमाडौं । नेपाल आयल निगमका देशभरका आधिकारीक बिक्रेताहरुको छाता संगठन ‘नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसन’ फुटेको छ । संस्थागत हित र आर्थिक पारदर्शिता नभएपछि नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनबाट एउटा खेमा बाहिरिएर राजेन्द्र गुप्ताको नेतृत्वमा ‘पेट्रोलियम व्यवसायी संघ नेपाल’ गठन गरेको हो ।
नयाँ समुहले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनले संस्थागत हित, पारदर्शिता, आफ्ना सदस्यहरुको संरक्षण र सम्बद्र्धनमा व्यवसायीहरुको हकहितमा काम हुन नसकेपछि नयाँ संस्था बनाएको जिकिर गरेको हो । ‘पेट्रोलियम व्यवसायी संघ नेपाल’ का कार्यबाहक अध्यक्ष राजेन्द्र गुप्ताले भने, “ नेतृत्वले समय सापेक्ष काम नगर्ने र उत्तरदायित्वबाट पन्छिने बाटो खोज्न थालेपछि विकल्पको खोजी गरिएको हो”
देशको विद्यमान ऐन कानुनको अधिनमा रहि पेट्रोलियम पदार्थको कारोबार गर्दा व्यवसायीहरुले नियमनकारी निकायहरुवाट लिनुपर्ने जाँसपास, वार्षिक नवीकरण तथा ट्याङ्क र ट्रकहरुको नापतौल लगायतका काममा संस्थाले सदस्यहरुको हितमा काम नगरपछि बाध्य भएर नयाँ संस्था दर्ता गर्नुपरेको उनको भनाई थियो । नयाँ संस्था पेट्रोलियम ब्यवसायी संघ नेपाल गत असार २९ गते दर्ता गरी साउन ३१ गतेदेखि कारोबार सुरु गरेको उनले बताए । गुप्ताका अनुसार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनलाई संस्थागत हिसाबले निर्णय लिँदा व्यवसायीहरु आफैँ धाउनुपर्ने कुराको अन्त्य गर्ने विषयमा पटक–पटक जानकारी गराएपनि त्यसलाई पूर्ण वेवस्था गर्दै मनोमानी ढंगबाट संस्था चलाउन थालेपछि विधिवत रुपमै नयाँ संस्था दर्ता गर्नुपर्ने बाध्यता आइपरेको हो ।
यस्तै पेट्रोलियम व्यवसायी संघ नेपालका महासचिव आत्मराम थापाले राज्य र व्यवसायीहरुबाट ठगी अन्त्य गर्न नयाँ संस्था खोलेको बताए । उनले भने, “व्यवसायीहरुको हितमा खोलिएका संस्थाले विभिन्न शीर्षकमा रकम असुल्ने, असुलेको रकमको हर–हिसाब पारदर्शी नगर्ने गर्न थालेपछि हामीले पटक–पटक सुध्रिन र व्यवसायीहरुको हकहितमा काम गर्न अनुरोध गरेकै हौं । तर, उहाँहरुले त्यसलाई पूर्ण वेवस्था गर्दै मनोमानी ढंगवाट संस्था चलाउन थाल्नुभयो । ”
नयाँ संस्थाले विधिवत काम सुरु गरेको दुई हप्ता पनि नभएपनि हालसम्म १२५ जनाभन्दा धेरै आबद्ध भैसकेको र जिल्ला जिल्लाबाछ सदस्यहरु थप गर्दै जाने उनले बताए । नयाँ संस्था मार्फत व्यवसायीहरुको हक हितको संरक्षण र सम्वद्र्धनको लागि काम गर्ने प्रतिबद्धता महासचिव थापाले व्यक्त गरे । आयल निगमसँग आवद्ध देशभरका पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुलाई सेवा प्रदान गर्नका लागि सरोकारवाला निकाय तथा विभिन्न संघ संगठन, उद्योगी, व्यवसायीहरुसँग हातेमालो गर्दै संगठित रुपमा अगाडि बढ्न आफूहरु कटिवद्ध र प्रतिबद्ध रहेको उनको भनाई छ ।
उनले यसअघि नेपाल आयल निगमका डिपोहरुबाट चिटकटो रसिद जारी गरी बीमा बापत रकम असुल्दै आइएको प्रथालाई अन्त्य गर्दै साउन ३१ गतेबाट निगमका सबै डिपोहरुबाट मुअ कर (भ्याट) बीजक बील सहित नेको इन्स्योरेन्स लिमिटेडसँग सहकार्यमा मार्गस्थल बीमा (ट्रान्जिट इन्स्योरेन्स) पोलिसी जारी गर्ने कार्य सुरु गरिसकेको बताए । यसअघि आम उपभोक्ताको मोविलिटीलाई सुनिश्चित गर्न देशभरका व्यवसायीले बर्षोदेखि चिटकटो रसिदका आधारमा जोखिम पूर्ण रुपमा पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको उनको भनाई छ ।
६ करोड बढीको आर्थिक अपचलनको आरोप
कार्यक्रममा महासचिव थापाले एशोसिएशनका पदाधिकारी र बीमा कम्पनीको मिलेमतोमा मार्गस्थल बीमाको नाममा सेवामुलक संस्थाबाट ६ करोड बढीको रकम असुली गर्दै आर्थिक अपचलनको आरोप लगाए । साथै उनले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनमा सीमित व्यक्तिहरुले हालीमुहाली गरी जिल्लास्तरमा आफू अनुकुलका व्यक्तिहरु मात्र निर्वाचित गर्ने, फरक मत राख्नेलाई बाइकट गर्ने, विधान संसोधन गर्ने, र सिन्डिकेट लाद्ने काम भएको बताए ।
‘नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसन’ ले नेपाल आयल निगमको सञ्चालक समितिको निर्णयनुसार भनि राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरी गैर नाफामुलक संस्था मार्फत सम्झौता गरेकोभन्दा बढी रकम असुल्दै आएको उनको भनाई छ । मार्गस्थल बीमाको नाममा तोकिएभन्दा बढी रकम असुल्ने र बर्षोदेखि चिटकटो रसिदका आधारमा बीमा गर्दा व्यवसायीहरुले बीमाको क्षतिपूर्ति नपाउने तथा खर्च शीर्षकमा उल्लेख गर्न पाउँदा पीडित बन्नुपरेको बताए ।
नयाँ संस्था मार्फत साउन ३१ गतेबाट नेको इन्स्योरेन्स मार्फत बीमा पोलिसी व्यवसायीहरुकै नामबाट जारीसँगै भ्याट बिल जारी गरिने व्यवस्था गरिएको उनले बताए । नयाँ संस्था मार्फत निगमका डिपोहरुबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा प्रत्येक व्यवसायीको नाममा प्रत्येक पटक चलान अनुसार मुल्य अभिवृद्धि कर (भ्याट) विजक सहितको बीमालेख नेको इन्स्योरेन्सबाट प्रत्येक्ष जारी हुने उनको भनाई छ ।
यसबाट वर्षोदेखि एशोसिएशनका पदाधिकारी र बीमा कम्पनीको मिलेमतोमा मार्गस्थल बीमाको नाममा हुने रकम अपचलनको अन्त्य हुने उनको भनाई छ । यस्तै व्यवसायीहरुले बीमा वापत बुझाएको रकमको रसिद राखी खर्च शीर्षकमा उल्लेख गर्न पाउने भएकाले लेखापरीक्षण गर्दा व्यवसायीहरुले व्योहोर्दै आएको झमेलाबाट मुक्ति पाउने उनले बताए ।
चिटकटो रसिदबाट गैरकानुनी हिसाबले रकम असुली गर्ने बीमा कम्पनीले पोलेसी जारी नगर्ने गरेको हुँदा देशका विभिन्न स्थानहरुमा दुर्घटना भएको अवस्थामा बीमा दाबी नपाउने समस्याको अन्त्य हुने उनले बताए ।