५८ मेगावाटको तिप्ल्याङ कालीगण्डकीको पीपीए, कालीगण्डकीमा १५२ मेगावाटका आयोजना बनाउँदै आईएमई समूह
काठमाडौँ । आईएमई समूहद्वारा प्रवर्धित तिप्ल्याङ कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तिप्ल्याङ कालीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच मंगलवार पीपीए सम्झौतामा हस्ताक्षर भएको हो ।
अहिले ५८ मेगावाट क्षमताको विद्युत खरिद विक्री सम्झौता भएको आयोजनाको क्षमता वृद्धि गरी ८६ मेगावाट कायम गर्न विद्युत विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको आईएमई समूहले जनाएको छ । थप २८ मेगावाटको पनि छिटै खरिद विक्री सम्झौता गरिने समूहले जनाएको छ ।
म्याग्दी जिल्लाको अन्नपूर्ण तथा रघुगंगा गाउँपालिकामा आयोजना निर्माण हुनेछ । यो आयोजना मध्यकालीगण्डकी जलविद्युत आयोजना र मिस्त्री खोला गरी दुई आयोजनाको क्यास्केडको रुपमा विकास गरिएको हो ।
आयोजनास्थलमा राजमार्गको पहुच रहेको भने प्रसारण लाइन समेत बनिसकेको समूहले जनाएको छ । प्राधिकरणले आयोजनाबाट उत्पादित उर्जा सुख्खायाम ८.४० रूपैयाँ प्रति युनिट र वर्षायाम ४.८० रूपैयाँ प्रति युनिटका दरमा खरिद गर्ने गरी सम्झौता भएको हो । व्यापारिक उत्पादन शुरु मितिबाट वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म मूल्य वृद्धि दिई खरीद गर्ने गरी सम्झौता भएको हो ।
आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति प्राधिकरणको निर्माण सम्पन्न भैसकेको कालीगण्डकी करिडोर अन्तर्गत दाना सबस्टेशनमा जोडिने छ ।
आइएमई समूहबाट प्रवद्धित हाईड्रो सपोर्ट प्रालिबाट ६६.३ मेगावाट क्षमताको माथिल्लो मध्यकालीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता यसअघि नै सम्पन्न भइसकेको छ ।
यी दुईवटा आयोजनाको कूल विद्युत क्षमताबाट सुख्खायाममा २९५.४६८ र वर्षायाममा ६३०.८९५ गरी कूल वार्षिक ९२६.३६५ गिगावाट आवर उर्जा उत्पादन हुनेछ । दुवै आयोजनाहरु २०८६ साल असार महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य तय गरिएको समूहको भनाइ छ ।
आयोजनाको कूल लागत ३३ अर्ब १४ करोड रूपैयाँ रहेको छ । आयोजनामा स्वपूँजी लगानी आइएमई समूहलगायतबाट हुनेछ भने वित्तीय व्यवस्थाको लागि नबिल बैंकको अगुवाइमा प्रकृयामा अघि बढिसकेको पनि जनाइएको छ ।
यी दुई परियोजना सम्पन्न भएपछि राष्ट्रिय ग्रीडमा १५२.३ मेगावाट विद्युत थपिनेछ ।