भुटान एयरलाइन्सले ३० भदौदेखि पुनः काठमाडौं उडान सुरू गर्ने
काठमाडौं । थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्सले ३० भदौदेखि काठमाडौं उडान पुनः सुरु गर्ने भएको छ ।
उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसले यस्तो जानकारी दिएको हो । नेपालमा साताको चार उडान हुने भएको छ ।
आइतबार, सोमबार, बुधबार, र शनिबार गरी साप्ताहिक रुपमा चार उडान हुने कम्पनीले जनाएको छ । पारो–काठमाडौं–दिल्ली रुटमा दुईतर्फी उडान हुँदैछ ।
निर्धारित फ्लाइटहरु पुनः सुचारु गरेसँगै भुटान एयरलाइन्सले विश्वव्यापी कोभिड–१९ को महामारीका कारण रोकिएको काठमाडौंका उडानहरु पुनः सुरु हुने भएको कम्पनीको भनाइ छ ।
‘थन्डर ड्रागनको भूमि’ भनेर चिनिने भुटानले पर्यटन प्रवर्द्धन गर्ने र नेपाल भुटान सम्बन्धलाई सुदृढ गर्ने प्रतिवद्धता अनुरुप सन् २०१३ देखि भुटान एयरलाइन्सले आफ्नो पहिलो काठमाडौं उडानको सुरुवात गरेको थियो ।
भुटान एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत पेमा नाडिकले जस्तो सुकै चुनौतीपूर्ण समयमा पनि अब उडानहरु नियमित राखिने बताए ।