एसिया कप : नेपाली खेलाडीले जिते सबैको मन, संसारभर चर्चा
काठमाडौँ । एसिया कपअन्तर्गत नेपाल डकवर्थ लुइस पद्धतिको आधरमा भारतसँग १० विकेटले पराजित भएको छ । श्रीलंकाको पालेकले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार सम्पन्न खेलमा नेपाल पराजित भएको हो । वर्षाका कारण २३ ओभरमा झारिएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य २० ओभरमा १ बलमा बिना विकेट लक्ष्य पूरा गरेको हो । भारतका लागि कप्तान रोहित शर्माले ७४ रनको अर्धसतकिय पारी खेले । त्यस्तै शुभमन गिलले मद्दतमा ६७ रन बनाए ।
भारतले जितसँगै दुई खेलमा तीन अंक जोडेर भारत समूह ‘ए’ बाट सुपर चारमा स्थान बनायो । यता नेपाल अंकविहिन बनेर एसिया कपबाट बाहिरिएको छ । पहिलो खेलमा नेपालले पाकिस्तानसँग २३८ रनको पराजित भएको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा २ बलमा सम्पुर्ण विकेट गुमाउँदै २३० रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले ५८ रनको अर्धशतकिय पारी खेले । उनले ९७ बलमा आठ चौका प्रहार गरे । त्यस्तै सोमपालले ५६ बलमा दुई छक्का र एक चौकाको सहयोगमा ४८ रन बनाउदा दीपेन्द्रले २९ र गुल्सनले २३ रन बनाए ।
यता, एसिया कप क्रिकेटमा नेपालले बलियो टोली भारतसँग जुन खेल खेल्यो त्यो यतिबेला चर्चाको विषय बनेको छ । विश्व च्याम्पियन भइसकेको भारतविरुद्ध नेपाली खेलाडीले जुन तरीकाले क्रिकेट खेले त्यसले सबैको मन जितेको छ । खासगरी भारतका चर्चित बलर मोहम्मद शामी, मोहम्मद सिराज र हार्दिक पाण्डे लगायतका विश्व स्तरका बलरहरुलाई नेपाली ब्याट्सम्यानहरुले जसरी सामना गरे, त्यो तारिफ योग्य छ । जुन नेपाली फ्यानहरुले सोचेभन्द धेरै राम्रो खेल पनि हो ।