भगवती हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुँदै
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ आज सोमबार (भदौ १८ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सोमबार बिहान ९ः३० बजे आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट गरिनेछ ।
यता, भगवती हाइड्रोपावरको आइपीओ हात पार्न पनि भाग्यकै भरपर्नु पर्ने भएको छ । किनभने यसमा मागभन्दा २१।४८ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
यसमा १३ लाख ८८ हजार ११५ जनाले कुल १ करोड ५३ लाख ३ हजार ६५० कित्ताका लागि आवेदन परेको छ । जसमा ७१ हजार २२२ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख १६ हजार ८९३ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गरेको थियो । हाल कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ रहेको छ ।
यसको १५% ले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १०% अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री भइसकेको छ । यस्तै, ५% (४२ हजार ९०५ कित्ता) सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ । २% अर्थात १७ हजार १६२ कित्ता सेयर कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याइएको थियो ।
रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ असार ६ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८१ वैशाख २२ गतेसम्म बाहल रहनेछ ।