अटोमोबाइल क्षेत्रका समस्या हटाउन सघाउने अर्थमन्त्रीको आश्वासन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अटोमोबाइल क्षेत्रमा रहेका समस्या समाधानमा प्रयास गर्ने आश्वासन दिएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पदाधिकारीहरूलाई अर्थमन्त्री महतले यस्तो आश्वासन दिएका हुन् ।
अध्यक्ष डा. ध्रुव थापा नेतृत्वमा नाडाका पदाधिकारीहरू अर्थमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए । सो टोलीले अर्थमन्त्रीसँग अटोमोबाइल क्षेत्रमा देखा परेका विभिन्न विषयमा छलफल गरेको जनाएको छ । अध्यक्ष थापाले सँधै समस्या बनिरहेको सन्दर्भ मूल्य सूचीका सन्दर्भमा तत्काल सरोकारवाला निकायहरूसँग आवश्यक सल्लाह गरी ययार्थपरक मूल्य कायम गर्न अर्थमन्त्रीलाई अनुरोध गरे ।
सुस्ताएको बजारलाई चलायमान बनाउन ऋण पुर्नतालिकीकरको व्यवस्था हुनुपर्ने, बैंक तथा वित्तीय निकायहरूलाई अटोमोबाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई घटाएर ७५ प्रतिशत नै कायम गरिनुपर्ने, बैंकहरूबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टू भ्याल्यू रेसियो हालको ५० प्रतिशतको सीमालाई बढाएर ७५ प्रतिशत कायम गर्ने लगायत माग थापाले राखेका हुन् ।
अर्थमन्त्री महतले समस्याहरूका सम्बन्धमा आफू जानकार रहेको र समाधानका लागि प्रयास गरिने आश्वासन दिए ।