माण्डु हाइड्रोपावरको आईपीओमा मागभन्दा करिब ९ गुणा बढी आवेदन
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि अन्तिम दिन भदौ १३ गतेसम्म मागभन्दा ८ दशमलव ८७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार अन्तिम दिनसम्म ९ लाख ८० हजार ५३ जनाबाट १ करोड ६ लाख ९५ हजार ३३० कित्ता आईपीओ खरीद माग भएको हो ।
कम्पनीले सर्वसाधारणमा पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा विक्री हुन नसकेको ७९ हजार ३० कित्ता आईपीओ समेत जोडेर १२ लाख ५ हजार ३२० कित्ता आईपीओ विक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत् १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ विक्री नेपाल धितोपत्र बोर्डबाट कम्पनीले अनुमति पाएको थियो ।
आयोजना प्रभावित स्थानीयमा १ लाख ९३ हजार ७०० कित्ता , वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ३६ हजार ३६४ कित्ता, कर्मचारीहरूका लागि २८ हजार ८५३ कित्ता र सामूहिक लगानीकोषका लागि ७२ हजार १३३ कित्ता आईपीओ यस अघि बाँडफाँट गरिसकिएको छ ।
यो कम्पनी २०६९ साल वैशाख ३ गते पब्लिक लिमिटेड कम्पनीमा दर्ता भई सञ्चालनमा रहेको छ । मकवानपुर जिल्लामा २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट २०७५ साल चैत १९ गतेदेखि व्यापारिक उत्पादन सुरू भएको हो । उक्त आयोजनको कुल निर्माण लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार रूपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १८ करोड २७ लाख रूपैयाँ रहेको छ ।