जापानी भाषा शिक्षक संगठनको अध्यक्षमा राजेन्द्र केसी चयन
काठमाडौँ । जापानी भाषा शिक्षक संगठन नेपाल (जाल्टान) को अध्यक्षमा राजेन्द्र केसी चयन भएका छन् । शनिवार सम्पन्न साधारण सभाले केसीलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
जापानी भाषा अध्यापन गराउने भाषा शिक्षकहरुको छाता संगठनका रुपमा रहेको जाल्टानको अध्यक्षमा आगामी २ वर्षका लागि केसी निर्विरोध निर्वाचित भएका हुन् । योकोहामा जापानिज ल्याङग्वेज एकेडेमीका प्रिन्सिपल केसी विगत १५ वर्षदेखि जापानिज भाषा अध्यापनमा सक्रिय छन् ।
अध्यक्षमा केसीसँगै उपाध्यक्षहरुमा संजय श्रेष्ठ र विजय लाल सिंह, सचिवमा विक्रम जुगीजु श्रेष्ठ, सह–सचिवमा रवि श्रेष्ठ, कोषाध्यक्षमा जुनिता राजभण्डारी, र सह कोषाध्यक्षमा प्रजन श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा कमला राई लामा, रितेश खड्का र चिरन शाही चुनिएका छन् ।
जाल्टानले जापान फाउण्डेसन र नेपालमा रहेको जापानी दूतावासको कल्चरल विङसँग मिलेर नेपालमा जापानी भाषाको बिस्तार र संस्कृतिको आदानप्रदान गर्ने कार्यमा काम गर्दै आएको छ ।