बाराही सेदी र एनएमबि क्यापिटलबीच सम्झौता, बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल नियुक्त
काठमाडौं । पोखराको लेकसाईडमा पाँच तारे होटल बनाईरहेको बाराही सेदी र एनएमबी क्यापिटलबीच इसियु मेनेजमेन्ट एग्ररिमेन्ट साइनिगं सेरोमोनी सम्पन्न भएको छ । बाराही सेदीले सर्वसाधारणका लागि आइपीओ मार्फत साधारण शेयर निष्काशन गर्नका लागि यी दुई कम्पनीबीच सम्झौता भएको हो ।
यो सम्झौतापछि बाराही सेदी लिमिटेडको शेयर निस्काशन र बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त भएको हो । जारी पूँजी १ अर्व १६ करोड रुपैयाँ रहेको उक्त होटलले जारी पूँजीको १० प्रतिशत अर्थात ११ करोड ६० लाख रुपैयाँ बराबरको ११ लाख ६० हजार कित्ताको शेयर जारी गर्ने कम्पनीले जनाएको छ । उक्त साधारण शेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि होटलले एनएमबि क्यापिटललाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा बाराही सेदी होटल लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक बिप्लब पौडेल तथा धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न गरेका छन् ।
उक्त हस्ताक्षर कार्यक्रममा बाराही ग्रुपका अध्यक्ष हरि प्रसाद पौडेल, बोर्ड सदस्य बसन्ती पौडेल, बैभव पौडेल सहितका सञ्चालक तथा कर्मचारीहरु तथा एनएमबि क्यापिटलका कमल प्रसाद नेपाल तथा आशिष राज पाण्डेको समेत उपस्थिति रहेको थियो ।
नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पुरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने कार्यकारी सञ्चालक विप्लव पौडेलले बताएका छन् । हाल करिब ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भै सकेको उक्त होटल सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तिव्र गतिमा निर्माण कार्य भैरहेको । होटलमा १० वटा प्रिसिडेन्सियल स्विट सहित १५० कोठा र ११ वटा सर्भिस हाउस रहनेछन् ।
पोखराको लेकसाइड मै पाँच तारे होटलको माग बढ्दै गएकाले क्यासिनोसहितको सुविधा सम्पन्न होटल बनाउन लागिएको छ । एक हजार २ सय क्षमताको हल समेत रहने यो होटलमा इन्फिनिटी स्विमिङ पुल, हेल्थ क्लब, टावर लिफ्ट लगायतका आकर्षण हुनेछन् ।